Prem

डोटीमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका लागि १३ जनाको उम्मेदवारी दर्ता

घण्टेश्वर अनलाईन
सिलगढी
आगामी मँसिर ४ गते एकसाथ सम्पन्न हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदको लागि डोटीमा आईतबार बिभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारीको लागि मनोनयन पत्र दर्ता गराएका छन । डोटी जिल्लाबाट प्रतिनिधि सभामा ६ जना र प्रदेश सभा सदस्यमा ७ जना गरि कुल १३ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्बाचन अधिकृतको कार्यालय डोटीले जनाएको छ ।
कार्यालयका अनुसार आज उम्मेदवारीको मनोनयन पत्र दर्ता गराउनेहरुमा सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा(एकिकृत समाजवादी) का तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेमबहादुर आलेमगर, प्रदेश सभा क क्षेत्रबाट नेपाली काँग्रेसका नरेन्द्रबहादुर सिंह र प्रदेश सभा ख बाट नेकपा(माओवादी केन्द्र) का शिबसिंह ओली रहेका छन । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराउनेहरुमा आलेमगर पूर्बमन्त्री तथा नेकपा (एकिकृत समाजवादी) का पोलिटब्युरो सदस्य हुन भने प्रदेश सभा क का उम्मेदवार नरेन्द्रबहादुर सिंह नेपाली काँग्रेस डोटीका पार्टी सभापति हुन । यसै गरि नेकपा(माओवादी केन्द्र) का उम्मेदवार शिबसिंह ओली सो पार्टीका केन्द्रीय सदस्य तथा मुख्यमन्त्रीका प्रमुख स्वकिय सचिब हुन ।
यसैगरि नेकपा(एमाले)ले भने एकल रुपमा निर्बाचनमा सहभागि हुने भएको छ । सो पार्टीले प्रतिनिधि सभा सदस्य पदमा गौरी ओली, प्रदेश सभा क मा चक्रबहादुर मल्ल र प्रदेश सभा ख का टेकबहादुर बमलाई अघि सारेको छ । एमालेबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार गौरी ओली सँबिधान सभा सदस्य तथा सो पार्टीका पोलिटब्युरो सदस्य हुन भने प्रदेश सभा क का उम्मेदवार चक्रबहादुर मल्ल सो पार्टीका जिल्ला अध्यक्ष तथा प्रदेश सभा ख का उम्मेदवार टेकबहादुर बम सो पार्टीका सुदूर पश्चिम प्रदेश कमिटी सदस्य तथा डोटी काठटमाण्डौं सम्पर्क मन्चका पूर्ब अध्यक्ष समेत हुन ।
यस्तै प्रतिनिधि सभा सदस्य पदको लागि राष्ट्रिय प्रजातन्त्र पाटीका तर्फबाट अंक बहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट केशब बलायर, र स्वतन्त्र उम्मेदवारको रुपमा नरेन्द्रबहादुर खड्का र राजप्रशाद जोशीले उम्मेदवारीको लागि मनोनयन पत्र दर्ता गराएका छन । स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराउनेहरुमा नरेन्द्रबहादुर खड्का डोटीमा प्रदेश राजधानी अभियानका अगुवा तथा डोटी उद्योग वाणिज्य सँघका पूर्ब अध्यक्ष हुन भने राजप्रसाद जोशी पूर्ब शिक्षक नेता हुन ।
डोटी प्रदेश सभा निर्बाचन क्षेत्र क बाट आईतबार उम्मेदवारी दर्ता गराउने अन्य उम्मेदवारहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेत्र नाथ, हाम्रो नेपाल पार्टी शैलेन्द्र खड्का, जसपाबाट कलावती श्रेष्ठ रहेका छन भने प्रदेश सभा ‘ख’ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मोहन बमले उम्मेदवारी दर्ता गराएको मुख्य निर्बाचन अधिकृतको कार्यालय डोटीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.