
कबिराम डाँगी
जोरायल
डोटीको जोरायल गाउँ पालिकामा Green Resilient Agricultural Productive Ecosystems (GRAPE) ग्रेप परियोजना सन्चालन हुने भएको छ । युरोपेली सँघ, फिनल्याण्ड सरकारको विदेश मामिला मन्त्रालय र जर्मन सरकारको बिएमजीको सहयोगमा उक्त परियोजना सन्चालन हुन लागेको जोरायल गाउँपालिकाले जनाएको छ ।
यस परियोजनाले जलवायु उत्थानशिलता तथा हरित आर्थिक बृद्धि प्रबद्र्धनमा योगदान दिने लक्ष्य लिएको छ । परियोजना अन्तरगत जलवायु परिबर्तन सम्बन्धि समस्याको सामाधान, जलवायु परिबर्तन अनुकुलन हुनेगरि पूर्बाधार बनाउन प्रयास गर्ने, बैज्ञानिक खेती प्रणालीमा जोड तथा उत्पादनलाई बजारिकण गर्न पहल गर्ने र सुशासनसँग सम्बन्धित कृयाकलाप गरिने जोरायल गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशदत्त भट्टले जानकारी दिनु भयो ।
यसै सन्दर्भमा परियोजना अन्तरगत ब्यवसायिक वातावरण र व्यवसायिक आत्म बिश्वास मुल्याँकनको लागि एक ब्यवसायिक वातावरण सर्भेक्षण सन २०२०/२१ को वारेमा बुधबार जोरायल गाउँपालिकाका सरोकारवालालाई जानकारी दिईएको छ ।
सर्भेक्षणको आधारमा जोरायल गाउँपालिकामा सम्बन्धित परिणाम र तथ्याँकको बिश्लेषण गर्नका साथै गाउँपालिकाको सुशासन तथा समग्र व्यवसायिक वातावरणको सुधार गर्न आबश्यक सुझावहरु पहिचान तथा आदान प्रदान गर्ने उद्देश्यले निदान कार्यशाला गोष्ठिको आयोजना गरिएको थियो ।
जोरायल गाउँपालिकाको सभाकक्षमा आयोजना गरिएको निदान कार्यशाला गोष्ठिमा सर्भेक्षणका क्रममा प्राप्त तथ्याँक, सूचनाको वारेमा सरोकारवालालाई जानकारी दिई सुझाव सँकलन गरिएको थियो ।
उक्त कार्यशालामा बोल्दै जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले ग्रेप परियोजनाबाट जोरायल गाउँपालिकाले धेरै फाईदा लिन सकिने भएकाले सबैले परियोजनालाई सफल बनाउन सहयोग गर्नुपर्ने कुरामा जोड दिनु भयो ।
यसै गरि गाउँपालिकाका उपाध्यक्ष जमूना बोहराले स्थानीय स्तरका सवालहरु पहिचान गरि योजनाबद्ध रुपमा काम गर्न सके समुदायले परियोजनाबाट फाईदा लिन सकिने बताउनु भयो ।
कृषि प्राबिधिक चन्द्र्रबहादुर सार्कीको सन्चालनमा सम्पन्न उक्त कार्यशाला गोष्ठिमा ग्रेप ज्ञान व्यवस्थापन सल्लाहकार बिद्या भण्डारी कार्यक्रमको परियोजनाको परिचय सम्बन्धि प्रस्तुतीकरण, जिआईजेड ग्रेप राष्ट्रिय परामर्शदाता दिलिप गुरुँगले ब्यवसायिक वातावरण सर्भेक्षण २०२१/२२ को सर्भेक्षणको रिपोर्ट प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा जोरायल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्षहरु, सरोकारवालाहरु, पत्रकारहरुको सहभागिता रहेको थियो ।