घण्टेश्वर अनलाईन
सिलगढी
डोटी जिल्लामा पानीमा डुबेर मृत्युहुनेको सँख्या बढ्न थालेपछि सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन ।
जिल्ला प्रशासन कार्यालय डोटीद्वारा मँगलबार आयोजना गरिएको अन्तरकृया कार्यक्रममा सरोकावालाहरुले पछिल्लो समय डोटी जिल्लामा पानीमा डुबेर मृत्यु हुनेको सँख्या बढ्न थालेको भन्दै चिन्ता व्यक्त गर्दै ब्यापक जनचेतना अभिबृद्धि गर्नु पर्ने कुरामा जोड दिएका छन ।
पानीमा डुबेर हुने मृत्यु रोकथाम दिवसको अवसरमा आयोजना गरिएको अन्तरकृया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले डोटी जिल्लामा पछिल्लो ४ बर्षको अबधिमा २१ जना पानीमा डुबेर मृत्यु भएको जानकारी दिनु भयो । उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी अर्यालले पानीमा डुबेरहुने मृत्यु रोकथाम दिवसको महत्व, बिश्वको अवस्था, नेपालको अवस्था र डोटीको अवस्थाको वारेमा जानकारी गराउनु भएको थियो ।
डोटी जिल्लाको सन्दर्भमा सेती नदीको आसपासमा नदीमा नुहाउने क्रममा डुबेर, बगेर मृत्यु हुनेको सख्या बढी देखिएको छ । यसै गरि बाढीमा परेर, नदीमा हाम फालेर, ट्याङ्कीमा डुबेर, नुहाउने क्रममा र मदिरा सेवन गरेर नदिमा जाँदा कैयौँको डुबेर मानिसको मृत्यु हुने गरेको छलफलमा सहभागिहरुले बताएका थिए ।
सहभागिहरुले सुरक्षा निकायको माध्यमबाट समुदाय स्तरमा जनचेतना अभिबृद्धि गर्नु पर्ने, बिद्यालय स्तरमा पनि जनचेतनामुलक कार्यक्रम आयोजना गरिनु पर्ने, स्थानीय तहले पनि आफ्ना वार्षिक कार्यक्रममा नदीमा डुबेर मृत्युहुने घट्नामा कमी ल्याउन व्यापक सचेतना कार्यक्रम आयोजना गर्नु पर्ने र मिडियाहरुको प्रयोग गरि पानीमा डुबेर हुने मृत्यु रोकथाम गर्नु पर्ने कुरामा जोड दिएका थिए ।
उक्त अन्तरक्रिया कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, सरकारी तथा विपद व्यवस्थापनका क्षेत्रमा कार्यरत गैरसरकारी सँस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
![](https://ghanteshwor.com/wp-content/uploads/2021/05/icon-150x150.png)