कबिराम डाँगी
जोरायल
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टलाई गृह जिल्ला डोटीको जोरायलमा नागरिक अभिनन्दन गरिने भएको छ । नेपाल सरकारको निर्णय अनुसार हालै गण्डकी प्रदेशको प्रमुखमा नियुक्त हुनु भएका भट्टलाई यही बैशाख ३ गते जोरायलको रावतकट्टेमा भब्य समारोहको आयोजना गरि नागरिक अभिनन्दन गर्न लागिएको जोरायल गाउँ पालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनु भयो ।
जोरायल क्षेत्रमा राजनीतिक चेतना अभिबृद्धि गर्न प्रदेश प्रमुख भट्टको निकै ठूलो योगदान पनि रहेको छ । भट्टलाई प्रदेश प्रमुख जस्तो उच्च पदमा पाउँनु सिंगो जोरायल गाउँ पालिकाको गौरवको कुरा हो, गाउँ पालिका अध्यक्ष ओझाले बताए ।
डोटीको जोरायल प्रदेश प्रमुख भट्टको गृह नगर पनि हो । प्रदेश प्रमुख भट्टले जीवनको महत्वपूर्ण समय जोरायललाई कर्म क्षेत्र बनाएर राजनीति, समाजसेवा बिताएका थिए । गण्डकी प्रदेशको प्रमुखमा नियुक्त भएपछि भट्ट पहिलो पटक गृहनगर जोरायल आउन लाग्नु भएको हो । बैशाख ३ गते नै प्रदेश प्रमुख भट्ट जोरायल महोत्सबको समापन कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।