निर्मलकुमार भण्डारी
हाल मालाखेती, कैलाली
घण्टाकर्ण को हुन् ?
स्कन्दपुराणमा उल्लेख भए अनुसार प्राचीन कालमा घण्टाकर्ण मिथिला प्रदेशमा ‘केतुमान’ नाम गरेका एउटा राजा थियो । आफ्नो राज्यमा बस्ने एउटा निर्दोष ब्राह्मणलाई वध गर्दै उनकी पत्नीलाई हरण गरेका पापले मृत्युपछि ऊ भयंकर ब्रह्मराक्षस भयो । त्यो राक्षस अन्य राक्षसहरुसंग मिलेर मलयाचल,विन्ध्याचल पर्वतहरु लगायत नगर र गाउँहरुमा मानवसंहार गरी अनेक दुष्कर्म गर्न थाल्यो । भगवान श्री विष्णुको नाम आफ्नो कानमा नपरोस् भनी कानमा घण्टा झुण्डयाएर हिड्ने हुनाले उ घण्टाकर्ण राक्षस नामले प्रसिद्घ भयो । कालान्तरमा यसले कुनै एकजना ऋषिको उपदेशमा विभिन्न तीर्थहरुको भ्रमण गर्दै यसै पवित्र मानसखण्डमा आई शिवजीको ठूलो भक्ति गर्यो । तीर्थ सेवनको प्रभावले आफ्ना सबै पापहरुबाट मुक्त भई दिव्यदेह प्राप्त गरेको घण्टाकर्णले तपस्याको अन्तिम चरणमा भगवान शिवको दर्शन पाउँनु अघि मानसखण्डको यसै पवीत्र ‘हगुल्टेलेकमा’ आफ्ना अन्य साथीहरु सहित ३ वर्षसम्म घोर तपस्या गरेको थियो भनेर स्कन्दपुराण मानसखण्ड संहिताको अध्याय १५ मा यसरी उल्लेख गरिएको पाइन्छ ।
ततोदिव्येन देहेन दिव्यैः सहचरैः सह । जगाम मानसक्षेत्रं कैलासाधिविराजितम् ।।५।।
स तत्र मज्जयामास रक्षोभिर्नृपसत्तम । सहदिव्यैर्देवकान्तैः स्वर्नद्यां सुरराडिव ।।६।।
त्रिभिर्वर्षैमहाराज सह यातुगणैः शुभैः । स तत्र तपयामास तपः परमदुष्करम् ।। ७।।
पूजयन्शङ्करं शान्तं पार्वत्या सह संस्थितम् । निनाय कालं धर्मात्मा साक्षादिव शतक्रतुः ।।८।।
ततः कालेन महता तुषितः पार्वतीपतिः । दर्शनं दर्शयामास सह नन्दादिपार्षदैः ।।९।।
तमाद्यं तोषयामास स तदा राक्षसोत्तमः। गीर्भिः प्रणयपूर्वाभिर्वाष्पपूर्णाभिः शङ्करम् ।।१०।।अर्थात ः त्यो ब्रह्मराक्षस ऋषिका वचन सुनेर अन्य राक्षसहरु सहित कैलाशपति विराजमान हुनुभएको प्रदेश मानसक्षेत्र तिर गयो । वन, उपवन,पर्वत आदि पार गरेर शुभ्र हिमाच्छादित पवित्र हिमालय पर्वतको दर्शन एवं भगवान् गौरीशङ्करको शुद्घ हृदयले स्मरण र पूजा गरेपछि त्यो ब्रह्मघाती भयङ्कर राक्षसले आफ्ना साथी अन्य राक्षसहरु सहित दिव्यदेह धारण गरी मानसरोवरको यात्रा गर्न लाग्यो । दिव्य देहधारी त्यस राक्षसले सबै साथीहरु सहित ‘मन्दाकिनी’ नदिमा गएर स्नान, तथा शिवपार्वतीको पूजन गरी तीन वर्ष सम्म ‘मानसक्षेत्रमा’ तपस्या गरेको थियो ।
शिव उवाच ः–
वरं वरय वै रक्षस्त्वया सन्तोषितोऽस्म्यहम् ।
मयि त्रातरि भक्तानां न भयं विद्यते क्वचित् ।।१८।।
राक्षस उवाच ः–
नाऽहं स्वर्गं शून्यसंज्ञं वृणेमि, पदं महेन्द्रस्य तथा समस्तम् ।
त्वत्पादकञ्जं त्रिदिवेन्द्रपूज्यं , वृणोमि रक्षैः सह शंकर प्रभो ।।१९।।
त्यस राक्षसको तपस्या बाट प्रसन्न भएका शिवजिले पार्वती तथा आफ्ना नन्दी लगायतका पार्षदहरु सहित राक्षसलाइ दर्शन दिनुभयो र इच्छित वर माग्नका लागि भन्नु भयो ।
राक्षसले भन्योे ः
“हे भगवान न मलाई स्वर्गको इच्छा छ ,न इन्द्रपदको इच्छा छ , म सधै इन्द्र द्वारा पूजित हजुरका चरणकमलको भक्ति गर्नपाउँ” भन्ने वर मागे पछि भगवान शिवले तथास्तु भन्दै उहाँको मनोकामना पूर्ति गरिदिनु भएको थियो भन्ने वृतान्त स्कन्दपुराण मानसखण्ड संहिताको अध्याय १५ मा स–विस्तार उल्लेख गरिएको छ । त्यो सबै प्रसंङ्ग क्रमशः हु–बहु यस पुस्तकमा पनि उल्लेख गरिनेछ । त्यसपछि भगवान शिवले राक्षस घण्टाकर्णलाई उसका सबै पापहरुबाट मुक्त गराई देवत्व प्रदान गराउँनु भएको थियो । साथै उहाँले घण्टाकर्णलाई आफ्नो गणमा समेत सामेल गराउँनु भयो । त्यसपछि राक्षस घण्टाकर्ण ‘घण्टेश्वर देवता’ भए । उनलाई कैलाशपति भगवान शंकरले यस मानसक्षेत्रमा यौन दुराचार गर्ने मनुष्यहरुलाई दण्डदिने कामको जिम्मेवारी समेत दिनु भयो । देवत्व प्राप्ति संगै उन्लाई उड्ने सिद्धी लगायत अष्टसिद्धिहरु प्राप्त भए । सिद्धि प्राप्त भए पछि घण्टेश्वरले नेपाल तथा भारतवर्षका कैयौं तीर्थहरुको भ्रमण गरे । काठमाण्डौ पशुपतिनाथ संग पनि यिनको विशेष सम्वन्ध रहि आएको छ ।
हरिवंश पुराणको असीऔं अध्यायमा राक्षस घण्टाकर्णले आफ्नो परिचय यसरी दिएका छन् ।
घण्टाकर्णोऽस्मि नाम्नाहं पिशाचो घोरदर्शन ः ।
मांसादो विकृतो घोरः साक्षान्मृत्युरिवापर ः।।२३।।
अर्थात् ःम घण्टाकर्ण नामगरेको प्रसिद्ध पिशाच हुँ , मेरो दृष्टि पनि धेरै भयंङ्कर छ । म मांसभक्षी,विकृताङ्ग,घोर तथा साक्षात् दोस्रोकाल जस्तै प्राणीहरुको हिंस्रक पनि छु ।।२३।।
धनदस्यानुगन्ताहं साक्षाद् रुद्रसखस्य च ।
ममायमनुजः साक्षदन्तकस्यान्तको ह्ययम् ।।२४।।
भगवान शंकरका भाई साक्षात् कुवेरजीको म अनुचर हुँ । यो मेरो आफ्नै सहोदर भाइ हो । जो कालको पनि काल जस्तै छ ।।२४।।
घण्टाकर्ण राक्षसले भगवान श्री विष्णुको नाम आफ्नो कानमा नपरोस् भनेर आफ्ना दुबैकानहरुमा बिसाल घण्टाहरु झुण्ड्याएको थियो । जस्तै ः
सततं दूषयन् विष्णुं घण्टामाबध्य कर्णयोः।
मम न प्रविशेन्नाम विष्णोरिती विचिन्तयन् ।।२७।।
अर्थात् ः पहिले म सधै श्री विष्णुको निन्दा गर्दथे , तथा आफ्ना दुबै कानमा घण्टीहरु झुण्याएर घुम्ने गर्दथे । किनभने कहीँ मेरा कानमा विष्णुको नाम प्रविष्ट नहोस् भन्ने मलाई चिन्ता लागि रहन्थ्यो ।।२७।।
घण्टाकर्णले भगवान शिवलाई प्रसन्न पारिसकेपछि कालान्तरमा सयकडौवर्ष पछि फेरि मुक्तिको कामना गर्दै भारत उत्तराञ्चल राज्यमा पर्ने बद्रिनाथ परिसरमा भगवान श्री विष्णुको घोर तपस्या गरे । प्रसन्न भएका भगवान श्री विष्णुले घण्टाकर्णलाई यस्तो वरदान दिएका थिए ।
अक्षयः स्वर्गवासस्ते यावदिन्द्रो वसिष्यति ।
तावत् स्वर्गी भवानस्तु शासनान्मम नान्यतः ।।२४।।
नष्टे शव्रmे ततः स्वर्गात् सायुज्यं मम गच्छतु ।
योऽयं भ्राता तव स्वर्गी यावदिन्द्रो भवेत् तदा ।।२५।।
(हरिवंश पुराण त्रियासियौ अध्याय)
अर्थात् ः “जब सम्म यी इन्द्र रहन्छन् तबसम्म तिम्रो अक्षय निवास स्वर्गलोकमा हुनेछ । तबसम्म तिमी मेरो शासन (वा आज्ञा) द्वारा स्वर्गमा निवास गर अन्यत्र होइन । यी इन्द्र बदलिए पछि तिमि स्वर्गबाट सिधै माथि उठ्दै मेरो सायुज्य (बैकुण्ठ धाम) प्राप्त गर्नेछौ । जो यो तिम्रो भाई छ नि, त्यो पनि जब सम्म यी इन्द्र रहन्छन् तब सम्म स्वर्गीय सुखको उपभोग गर्नेछ” ।।२४–२५।।
यसका अलावा विविध पौराणिक ग्रन्थहरुमा फरक–फरक प्रकारका घण्टाकर्णहरु पनि पाइएका छन् जस्तै ः
श्री घण्टेश्वर देवताको स्थान ः
डोटी जिल्लाको जोरायल गा.पा. र डडेलधुरा जिल्लाको गन्यापधुरा गा.पा.को सीमानामा पर्ने धनगढी डडेलधुरा राजमार्गमा अवस्थित हगुल्टेखान देखि उत्तरपूर्व माथि उकालो हिडेर लगभग १ घण्टामा पुगिने ठाउँमा श्री घण्टेश्वर देवताको प्राचीन मन्दिर अवस्थित छ । यस पर्वतका विषयमा महर्षि वेदव्यासले स्कन्दपुराण अन्र्तगत मानसखण्डको १५७ र १५८ औं अध्यायमा विस्तृत रुपले उल्लेख गर्नु भएको छ । यस पर्वतमा घण्टाकर्ण देवता विराजमान भएकोले भगवान वेदव्याशले नै यस पर्वतलाइ घण्टाकर्ण पर्वत नामाकरण गर्नु भएको थियो । जस्तै ः
घण्टापर्वतसंलग्नो यज्ञाद्रिर्यस्त्वयेरितः ।
तस्मिन्क्षेत्राणि पुण्यानि कानि सन्ति तपोधन ।।१।।
(स्कन्द पुराण, मानसखण्डको (अध्याय १५७)
अर्थात् ः हे तपोधन ! हजुरले घण्टा पर्वत (घण्टेश्वर धुरा) सित जोडिएको ‘यज्ञ पर्वत’ (चौडेथल ,जगत्तडी) का बारेमा हामीलाई बताउँनु भयो । त्यो पर्वतमा अरु पवित्र ठाऊँ के–के छन्, (हामीलाई पनि बताउँनु होस् )
श्री घण्टेश्वरदेवता केदार श्रेणीका देवता हुन् । यस क्षेत्रमा यी केदार श्रेणीका सातवटा देवताहरु छन् भनी डोटी जिल्लाका इतिहास–संस्कृति विज्ञ श्री पदमराज जोशी ‘भारद्वाज’ले आफ्नो ‘कालोपातल’ भन्ने खोजमूलक पुस्तकमा विस्तृत रुपमा उल्लेख गर्नु भएको छ । उहाँका अनुसार सबै भन्दा जेठा घण्टेश्वर हुन् । त्यसपछि क्रमशः कपल्लेकी केदार (डोटी कफल्लेकीमा), कपडेउती केदार (डोटी मुडेगाउमाँ), ‘असिउँ केदार’ डडेलधुरा जिल्लाको गांङ्खेत गा.वि.स.को गांङ्खेत गाउँ तथा असिउँ धुरामा (डोटी जिल्लाको मुडेगाउँमा ,जोरायल अवस्थीगाउँ तथा डडेलधुरा जिल्लाको रुवाखोेलामा गरी चार ठाउँमा) त्यस्तै ‘भागेश्वर केदार’ (डडेलधुरा र डोटी जिल्लाका कैयौं ठाउँमा ) ‘काफली केदार’ (मुडभरा डोटी) ‘गन्याप केदार’ (डडेलधुरा जिल्लाको कैलपाल गा.वि.स.मा) पर्दछन् ।
२०१४ सालमा राजा श्री ५ महेन्द्र आफ्नो सवारीको सिलसिलामा यस स्थानबाट भएर डडेलधुरा जाँदै गर्दा यो शिखरमा पुगेपछि उहाँलाई अद्भुत र दिव्य अनुभव भयो । त्यसपछि महेन्द्र सरकारले स्थानीय जानकार भक्त श्री करनसिंह बम लाइ बोलाउँन लगाई करनसिंह बम संग श्रीघण्टेश्वरको विषयमा आवश्यक सोधपूछ गरिबक्सेको थियो रे । त्यसै दिन देखि महेन्द्र सरकारबाट श्री घण्टेश्वर देवताकोे नित्यपूजा गर्नु भनि हुकुम हँुदै नेपाल सरकारबाट दैनिक रु १÷– प्राप्त हुने व्यवस्था मिलाउँनु भएको थियो । जो हाल केही बृद्धि भई रु.३०००÷– बार्षिक भएको छ । सोही बर्ष बाट घण्टेश्वर जात्राको पूजाको प्रसाद पनि नेपाल दरवार पठाउने गरिएको थियो । त्यस पूर्व १२ औं सताब्दि तिर डोटी क्षेत्रका राजा नागीमल्लको दरवार अजयमीरकोटमा प्रशाद पठाइन्थ्यो भने नागीमल्लको राज्य समाप्ती पछि विचमा कुनै दरवारमा पठाइएन । राजा नागीमल्लका पाला देखिनै यस मन्दिरमा देउकी चढाइएको पाइन्छ । घण्टेश्वर देवताका हालका ‘माली’ ८५ बर्षिय दसरथ पालीका अनुसार अन्तिम देउकिहरुको नाम ‘तुली’ र ‘काली’ थियो । हालको मन्दिर बन्नु अघि त्यहाँ कलात्मक ढुङ्गाहरुबाट बनेको ‘माण्डौं’ थियो । त्यो माण्डौ १९९० सालतिर गएको भूकम्पमा परि क्षतिग्रस्त भएपछि ,तिनै माण्डौका ढुङ्गाहरु बाट २०२४ सालमा हालको मन्दिर बनाइएको थियो । २०६१ सालतिर यहाँ बाट नजिकै रहेको धनगढी डडेलधुरा राजमार्गमा तत्कालिन माओबादी विद्रोहीहरु र नेपाली सेनाका बीच ठुल्ठूला भिडन्तहरु भएका थिए । यो पुस्तकमा समावेस गरिएको मन्दिरको फोटोमा पनि गोली लागेको चिन्ह स्पष्ट देख्न सकिन्छ ।
श्री घण्टेश्वर देवताको पूजा लाग्ने तिथि ः
नेपालको महाभारत पर्बत श्रृङ्खलामा पर्ने विविध स्थानहरु सहित काठमाण्डौ पशुपतिनाथ देखी भारतको गयाँ , बनारस, द्वारका, रामेश्वरम्, बद्रीनाथ धाम लगायत अन्य कैयौं तीर्थ स्थानहरुमा पनि घण्टाकर्णका स्थानहरू पाइन्छन् । यस क्षेत्रमा पर्ने महाभारत पर्वत श्रृङ्खलामा सबै केदारहरुको पूजा लाग्नु भन्दा अगाडि सर्वप्रथम घण्टेश्वरकोे पूजा लाग्ने गर्दछ । विविध पौराणिक ग्रन्थहरुमा घण्टाकर्ण भनेर उल्लेख गरिएका घण्टाकर्ण राक्षस नै श्री घण्टेश्वर देवता हुन् भन्ने मान्यता रहिआएको छ । घण्टाकर्णको औपचारीक पूजा तिथि प्रत्येक वर्ष श्रावण महिनामा पर्ने ‘कृष्णपक्षको चतुर्दशी’ तिथि हो । जसलाई ‘घण्टाकर्ण चतुर्दशी’ पनि भन्दछन् । तर यहाँ घण्टेश्वर शिखरमा भने मुख्य पूजा भने ‘भाद्र शुक्ल अष्टमी,का राती हुन्छ । यस कुराले गर्दा घण्टेश्वर र घण्टाकर्णमा केहि भिन्नता छ कि भन्ने भ्रम पैदा भएको छ । यसको गहन अध्ययन हुन जरुरी छ ।
यसका अलावा विविध पौराणिक ग्रन्थहरुमा अन्य घण्टाकर्णहरुको पनि उल्लेखगरिएको पाइन्छ । जस्तै ः
आचार्य घण्टाकर्ण
विविध पौराणिक ग्रन्थहरुमा एकजना पाशुपत सम्प्रदायका आचार्य घंटाकर्णको उल्लेख गरिएको पाइन्छ । शैव परम्पराका पौराणिक साहित्यहरुबाट के थाहा हुन्छ भने अगस्त्य, दधीचि, विश्वामित्र, शतानन्द, दुर्वासा, गौतम, ऋष्यश्रृंग, उपमन्यु, घंटाकर्ण ,व्यास आदि महर्षिहरु शैवमतका अनुयायी थिए । भगवान वेदव्यासले यिनै आचार्य घण्टाकर्णबाट केदारनाथ क्षेत्रमा पाशुपत दीक्षा लिएका थिए । यी आचार्य घण्टाकर्णका साथमा वेदव्यास धेरैदिन सम्म काशीमा समेत रहेका थिए । कालान्तरमा व्यासजीले उनको सम्झनामा काशीमा घण्टाकर्ण नामक तलाउको निर्माण गराए । त्यहीँ हातमा शिवलिंग धारण गरेको घण्टाकर्णको मूर्ति पनि विराजमान छ । त्यसै तलाउको तटमा व्यासजीको मन्दिर पनि रहेको छ ।
शिवपुत्र कुमार कार्तिकेयका पार्षद घण्टाकर्ण ः
हिन्दू पौराणिकग्रंथ महाभारतका अनुसार कुमार कार्तिकेयका एक जना पार्षदको नाम घण्टाकर्ण थियो ।
भारत उत्तराखण्डको लोकसंस्कृतिमा घण्टाकर्ण ः
भारत उत्तराञ्चल राज्यको टिहरीगढवाल अन्तर्गत पर्ने कीर्तिनगर विकासखण्डको लोस्तु बडियारगञ्जमा प्रत्येक १२÷१२ बर्षमा आदिबदरी (घ्ांटाकर्ण)कोे महापूजा अथवा पूर्ण कुम्भको आयोजना गरिन्छ । सत्ययुगमा घंटाकर्णको जन्म राक्षसका रूपमा भएको थियो । उसका दुबै कानहरुमा ठूल्ठुला घंटाहरु लगाएका हुन्थे । शिवभक्त घंटाकर्ण बद्रीनाथ स्थित भगवान शिवको पवित्र स्थलमा रहेर पूजा–अर्चना गर्ने गर्दथे । एकपटक भगवान शिवको अनुपस्थिति भएको बेला विष्णु भगवान त्यहाँ पुगे र उनले घण्टाकर्णबाट केहीदिनका लागि शिवको स्थानमा रहने अनुमति मागे । घंटाकर्णले विष्णु भगवानलाई त्यहाँ बस्ने अनुमति दिएनन् । क्रोधित भएका विष्णु भगवान र घंटाकर्णको युद्ध हुनथाल्यो । युद्ध हुँदाहुदै धेरै बेर भइसके पछि पनि घण्टाकर्ण पराजित् भएनन्् । विष्णु भगवान थाक्नलाग्नु भयो । त्यसपछि उहाँले सुदर्शन चक्र प्रहार गरेर घंटाकर्णको गर्दन काटि दिनुभयो । जब शिवजी त्यहाँ आए उन्लाई सबै कुरा थाहा भयो । त्यसपछि शिवले घण्टाकर्णलाई उसका भक्तहरुको मनोकामना पूर्णगर्ने वरदान दिनुभयो । भनिन्छ घण्टाकर्णले त्यसपछिको जन्ममा पाँच पाण्डवमध्येका अर्जुनका पुत्र ‘अभिमन्यु’ को रूपमा जन्म लिए । आज भोलि पनि लोस्तु पट्टीमा आयोजित हुने कुंभमेलामा अभिमन्यु लाई ‘पश्वा’ अथवा धामीमा देवअवतार गराइ सकेपछि उनी ः “मेरी माता सुभद्रा रेली, पिता अर्जुनको जाया, सुभद्रा को पठायो” अर्थात मेरी आमा सुभद्रा ,बुवा अर्जुनले मलाई पठाएका हुन् भन्दै आफ्ना भक्तहरुलाई प्राचीन कथानकको आभास गराउँछन् ।
उत्तराखण्डको टिहरी गढवालमा घंटाकर्ण लाइ ‘घंडियाल’ देवताको रुपमा अलग–अलग स्थानमा पूज्ने गरिन्छ । त्यहाँको लोस्तु बडियारगञ्जमा ‘ क्षत्रिय’ घंटाकर्णका नामले पूजा गरिन्छ । यी देवता यहाँ लगभग सोह«ौं शताब्दी भन्दा पहल्यै नै आईसकेका थिए । त्यहाँ खत्री घंडियाल देवता, राठी, क्षेत्रपाल, विनसर, हीत, नागराजा, र देवी महाकालीको विधि–विधान द्वारा पूजा हुन्छ । लाखौं श्रद्घालुहरु यस महाजाँतमा भाग लिन आउँछन् । देव भूमि उत्तराञ्चलका अन्य कैयौं स्थानहरुमा पनि यस देवताका मन्दिर छन् । त्यहाँ समय–समयमा देव–पूजाको आयोजन गरिन्छ । ढोल वादकहरु र स्थानीय पुजारीहरुको भनाइ अनुसार, जब दिल्लीमा गैर हिन्दूहरुको साम्राज्य स्थापित भैरहेको थियो,त्यसै बेला देवताहरुले पनि दिल्ली छोडेर उत्तराखण्डका यसै पवित्र हिमालय क्षेत्रमा आएर अफ्नो निवास क्षेत्र बनाएका थिए । यो पवित्र तपस्थली भगवान शिवको गृहभूमि भएको कारणले यहाँका अधिकांस ठाउँमा देवताहरुले आफ्ना मठहरु बनाएका थिए ।
यक्षहरुका देवता घण्टाकर्ण
विविध पौराणिकग्रन्थरुमा घंटाकर्णलाई यक्षहरुका देवता पनि भनिएको छ ।
जस्तै ः धनदस्यानुगन्ताहं साक्षाद् रुद्रसखस्य च । (हरिवंस पुराण)
अर्थात् ः भगवान शंकरका भाई साक्षात् कुवेरजीको म अनुचर हुँ ।
बद्रीनाथ धामका चौकीदार घण्टाकर्ण
यत्र विष्णुर्जगन्नाथस्तपस्तस्वा सुदारुणम् । द्विधाकरोत् स्यमात्मानं नर नारायणाख्यया ।।२१
सिद्घ क्षेत्र मिदं प्राहुऋषयो वीत मत्सरा ः विशालां वदरी विष्णुस्तां द्रष्टुँ सकलेश्वरः।।२२।।
(श्री हरिवंश महापुराण पाचौं स्कन्ध)
भगवान बदरी विशाल मन्दिरमा दाहिने तर्पmको परिक्रमापथमा कथा मंडप को नजिकै घंटाकर्ण को एउटा मूर्ति रहेको छ । घण्टाकर्णलाई भगवान बदरीविशालका द्वारपाल अथवा स्थानीय भाषामा ‘कोतवाल’ पनि भनिन्छ । घंटाकर्ण को थिए र यहाँ आएर कोतबाल अथवा थानेदार कसरी भए भन्ने प्रसंङ्गको कथा हरिवंश पुराणमा विस्तारले उल्लेख गरिएको छ । जो यसै पुस्तकमा पछि उल्लेख गरिनेछ छ । घण्टाकर्णको तपस्याले प्रसन्न भएका श्री कृष्णले घण्टाकर्णलाई वरदान दिदै भन्नु भएको थियो ः
“हे राक्षसराज यो ब्रह्माण्डमा मुक्ति बाहेक बाँकी सबै सांसारिक कुरा सहज रुपमा प्राप्त गर्न सकिन्छ तर मुक्ति पाउन कठिन छ । म तिम्रो शुद्घभावले गरेको भक्तिले प्रसन्न्न भएको छु । कलियुगको अन्तमा तिमीले सायुज्य मुक्ति प्राप्त गर्ने छौं । तवसम्म मेरो यस पवित्र क्षेत्रको रेखदेख गर्दै यही निवास गर”
भन्दै श्री हरि अन्तध्र्यान हुनुभएको थियो । त्यसै दिनबाट राक्षस घण्टाकर्ण भगवान श्री बद्रीनारायण मन्दिरका ‘कोतवाल’ अथवा ‘थानेदार’ भएर सुरक्षा प्रमुख हुँदै आफ्नो सुक्ष्मस्वरुपले बद्रीनाथ मन्दिर तथा यसक्षेत्र आसपासको रेखदेख गर्दै त्यही निवास गर्दै आइरहेका छन् भन्ने विश्वास रहि आएको छ । बद्रीनाथ मन्दिरबाट उत्तर तिर भारत र चीनको सिमानामामा पर्ने अन्तिम गाँउ ‘माणा’मा प्राचीन आदिबद्री को मन्दिर अवस्थित छ । माणा गाउँका निवासीहरुका अनुसार यो मन्दिर तिनै क्षेत्रपाल घण्टाकर्णको स्थान हो भन्ने भनाई छ । भगवान बद्रीनाथका क्षेत्रपाल घण्टाकर्ण देवताको माणा गाँउमा स्थित आदिबद्रीको मन्दिर आफ्नो अलग विशेषता र पहीचान राख्दछ । प्रत्येकवर्ष दिपावली आसपास भगवान बद्रीनाथ का ढोका बन्द भैसकेपछि जेष्ठ महिनामा ढोका खुल्नु अघिसम्म यो पुरै क्षेत्र भारतीय सेनाको जिम्मामा रहन्छ । यसकारणले गर्दा माणा गाउँका निवासीहरु पनि जाडोयामका ६ महिनाकाट्न सिंह धार, सैन्टुणा, घिंघराण,नरौं, सिरोखुमा आदि स्थानहरुमा जान्छन् । त्यहाँका इन्टर सम्मका विद्यार्थीहरु पनि माणागाउँमा ६ महिनामात्रैै पढ्न पाउँछन् ।
श्रोत ः
http://www.merapahadforum.com/religious-places-of-uttarakhand/ghanta-karn-kumbh-held-12-yrs-in-tehri/