मोटरसाइकल चलाउनेहरुले सुरक्षित हुन जान्नै पर्ने सामान्य तर उपयोगी १० टिप्सहरु

मोटरसाइकल तुलनात्मकरुपमा सस्तो साधनमा गनिन्छ । यसैले यसका प्रयोगकर्ताहरु पनि अत्याधिक छन् । नेपालमा बार्षिक ३ लाख भन्दा बढि नयाँ मोटरसाइकल बिक्री हुने आंकडा छ । यो रोजाइको सवारी साधन सजिलो मात्रै छैन, सामान्य गल्तिले भयानक दुर्घटना पनि गराउन सक्छ । यसैले मोटरसाइकल चलाउदा सुरक्षाका उपायहरुका बारेमा जानकार हुनै पर्छ ।

यहाँ हामीले केहि सुरक्षाका उपायहरु सुझाव दिदैछौँ । यी सुझावहरु सबैका लागि उपयोगी हुन सक्छन् र यीनीहरु पालना गर्नका लागि धेरै लगानी पर्ने वा निकै ठुलो सिप चाहिने पनि हुदैन । सामान्य सुरक्षाका उपायहरुले पनि दुर्घटना टार्न   सक्छन् । यी उपायहरु पढेर पालना गर्नुहोला ।

१. एउटा मात्र ब्रेकको प्रयोग गर्ने बानीले बाइकको सन्तुलन बिगार्छ । यदि तपाईं दुईवटै ब्रेकको प्रयोग गरेर मोटरसाइकल रोक्न सक्नुहुन्छ भने तपाईं सफल चालक हुनुहुन्छ । सुरक्षाका दृष्टिकोणले पनि यो कला महत्वपूर्ण छ । कम स्पिडमा सम्झिएरै दुइवटा नै ब्रेक प्रयोग गर्ने बानीको विकाश गर्नुहोस् ।

२. मोटरसाइकल चालकले हेल्मेट प्रयोग गर्दा सम्झौता गर्नु हुँदैन । जुनसुकै र जति सुकै छोटो यात्रामा पनि हेल्मेटको प्रयोग गर्न अल्छि गर्नु हुदैन । हेल्मेट खरिद गर्दा कस्तो कच्चापदार्थले बनेको हो, ध्यान दिनुपर्छ । हेल्मेट टाउकोमा मिल्ने खालको, तर सस्तो पायो भन्दैमा जहाँ पायो त्यहीँ किन्नु पनि हुँदैन ।

३. सडकमा धैर्य कायम गरेर आरामका साथ अगाडि बढ्नुपर्छ । हडबडी या हतार गर्नु जरुरी छैन । बाइक चलाउँदै गर्दा गतिलाई भने विशेष ध्यान दिनुपर्छ । अन्यथा, सानो गल्तीले पनि ठूलो दुर्घटना निम्तिन सक्छ । सडक र नियमानुसार बाइकको गति कायम राख्नु बुद्धिमानी हुन्छ ।

४. अगाडि तथा दायाँ–बायाँको सवारीसाधनसँग निश्चित दूरी कायम राख्नुपर्छ । ट्राफिक जामको वेलामा पनि वरिपरिको परिस्थिति बुझ्नुपर्छ । कुनै पनि सवारीसाधनको धेरै नजिक नजानु नै राम्रो हुन्छ । अझ भिरोलो सडकमा आफ्नो अगाडि पछाडिको सवारी साधनसँग पर्याप्त दुरी कायम गर्नु पर्छ । धेरै जसो सवारी रोकिएर अगाडि बढ्दा केहि पछाडि सार्ने गर्छन्, त्यो दुरीलाई सँधै हेक्का राख्नु पर्छ ।

llc

५. कुनै स्थानमा रोक्नु वा मोड्नु छ भने त्यसको सूचना सही समयमा नै दिनुपर्छ । लेनमा आफ्नो दिशा अचानक परिवर्तन गर्नु हुँदैन । ट्राफिकलाई आफ्नो अगाडिको गन्तव्यको बारेमा इन्डिकेटर वा हातले पनि जानकारी दिनुपर्छ । ठ्याक्कै मोडिने बेलामा मात्रै साइड लाइट बालेर सुचना दिनु पनि सहि तरिका होइन ।

६. धेरैजसो नदेखिने मोडहरूमा दुर्घटना हुने गर्छ । त्यसैले हतारमा ओभरटेक गर्नु हुँदैन । विशेषगरी, जब ठूला सवारीसाधनको अगाडि बढ्नु छ भने ख्याल राख्नुपर्छ । अगाडिबाट कुन गतिमा के आइरहेको छ भन्ने प्रस्ट देखिने भए पछि मात्रै ओभरटेक गर्नु पर्छ ।

७. मोटरसाइक चलाउँदा लगाउने लुगामा पनि विशेष ध्यान दिनुपर्छ । महिलाका सारी तथा सलहरु पाङ्ग्रा वा चेनमा पसेर दुर्घटना भएका खबरहरु बारम्बार आइरहेका हुन्छन् । सवारीमा चलाउँदा वा पछाडि बस्दा यस्ता कुराहरु ख्याल गर्नु पर्छ ताकि कुनै पनि कपडाहरु पाङ्ग्रा वा चेनमा नबटारिउन् । यस्तै डबल रेनकोट पनि बटारिन सक्छ । खासगरि डबल रेनकोट प्रयोग गरेर एक्लै वाहन चलाउदा यसको एकदमै सहि ढंगले प्रयोग गर्नु पर्छ ।

८. राती वा कम उज्यालोमा मोटरसाइकल चलाउँदा हाइबिम लाइटको प्रयोग गर्नु पर्छ । तर अगाडिबाट अर्को साधन आइरहेको भए दुईवटा सवारीको प्रकाश भेटिने अवस्था हुने बित्तिकै लो बिम गर्नु पर्छ । हाइ बिम आँखामा परेमा राम्ररी सडक निकै बेर देखिदैन । यस्तोमा दुर्घटना हुने वा पैदलयात्रीलाई ठक्कर दिने सम्भावना हुन्छ । यसैले हाइबिमबाट ध्यान हटाउने कलामा पारंगत हुनु पर्छ ।

९. पछाडि यात्रु राखेको भए मोटरसाइकल चालकले सँधै एक पल्ट तयार भएको वा नभएको सोधेर मात्र सवारी चलाउनु  पर्छ । आफ्नै अन्दाजले पछाडिको मानिसको बसाइका बारेमा निर्णय गर्नु हुदैन ।

१०. बाटो भिजेको, चिप्लो भए वा एकदमै हावाहुरी चलेको अवस्थामा मोटरसाइकललाई नियन्त्रण गर्न गाह्रो हुन्छ । यस्तोमा तिव्र गतिले दुर्घटना निम्त्याउन सक्छ ।

Sabai auto बाट साभार

Leave A Reply

Your email address will not be published.