
कबिराम डाँगी
जोरायल
जोरायल क्षेत्रको प्रसिद्ध जोरायल दुत्ते मेला यस बर्ष कार्तिक महिनाको ९, १० र ११ गते ३ दिन सम्म मनाईने भएको छ ।
जोरायल गाउँपालिका वडा नंं ४ सिलँगीबाग स्थित चड्यौलीस्थान परिसरमा हरेकबर्ष तिहार भाईटिकाको दिउसो, राती र अर्को दिन बिहानसम्म मेला हुने भएपनि बिगत केही बर्ष यता मेलालाई ३ दिन सम्म मनाउन थालिएको हो । जोरायलको दुत्ते मेलामा सहभागि हुनका लागि घर बाहिर रहेका जोरायलेहरु घर फर्किरहेका छन । दुत्ते मेलाका जोरायल गाउँ पालिका तथा छिमेकी गाउँ पालिकाबाट पनि मानिसहरु आउने गर्दछन ।
जोरायलको दुत्ते मेलालाई ब्यवस्थापन गर्नको लागि स्थानीय देबबहादुर शाहुको सँयोजक र ठक्करबहादुर कठायत सचिब रहेको एक मेला ब्यवस्थापन समिति पनि गठन गरिएको छ ।
समितिको निर्णय अनुसार कार्तिक महिनाको ९ गते दिउसो ४ बजे चौलो सहित सानो देउसो कार्यक्रम, कार्तिक १० गते दिउसो १२ बजे देखि साँझ सम्म बिशेष मेला तथा चौलो भोस्सो सहित देउरो कार्यक्रम र कार्तिक ११ गते बिहान ३ बजे देखि ७ बजे सम्म चौलो, भोस्सो सहित देउरो कार्यक्रम गरि दुत्ते मेला समापन गरिने छ ।
मेलालाई शान्त र ब्यवस्थित रुपमा सम्पन्न गर्नको लागि मदिरा पूर्ण रुपमा निषेध गरिएको र सेवन र बिक्रि बितरण गरिएमा समितिको निर्णय अनुसार कारवाही गरिने मेला ब्यवस्थापन समितिका सचिब ठक्करबहादुर कठायतले जानकारी दिनु भयो ।
के हो जोरायलको भोस्सो ?
डोटीको जोरायल क्षेत्रमा हरेक बर्ष आयोजना हुने प्रमुख जात्राहरु मध्येको भाईटीकाका दिन हुने भोस्सो जात्रा पनि एक हो । जोरायल दुत्ते मेला खास गरेर सिलँगीबाग स्थित शक्तिशाली देवता चडयौलीथानको प्रसन्नताको लागि गरिने स्थानीय बासिन्दाहरुको भनाई रहेको छ । महाभारत कथामा उल्लेख गरिए अनुसार जरासन्धलाई राक्षस भनेर सम्बोधन गरिएपनि डोटी जोरायलको संस्कृतिमा यिनलाई देवता भनेर पुज्ने गरिन्छ । यो जात्रा गरिएन भने ती देवता रिसाई जोरायलमा विविध अनिष्ट गराउन सक्ने विश्वास यहाँको जनमानसमा प्रवल रूपमा रहेको छ । यो जात्रा प्राचीन युद्धको लागि मोर्चाबन्दी सहित युद्घमा जान तयार सेनाको जुलुस जस्तै हुन्छ । भाइटीकाका दिन त्यहाँका सबै मानिसहरू बिहान आआफ्ना दिदी–बहिनीहरूका हातबाट टिका लगाइसकेपछि खाना खाएर जोरायल गाउँपालिका वडा नं. ४ स्थित सिलंगीबाग बजारको मेलामा जान्छन् , जुन मेलालाई त्यहाँको स्थानीय भाषामा दुत्तेको मेला भन्छन् । त्यहीं प्रसिद्ध चडयौंलीथान भन्ने स्थानीय देवताको थान पनि छ । त्यहाँको स्थानीय भाषामा चडयौंलो भन्ने एउटा स्थानिय जातको रुख हुन्छ , त्योे थान मा त्यै चडयौंलाको रुख भएकाले थानमा भएका देवतालाई प्रत्यक्ष इंगित नगरी रुखको नामबाट देवस्थानको नामकरण भएको पाइन्छ । न्याय दाताका रूपमा चिनिने यी चडयौलीथान देवताको मन्दिर छैन, स्थापना मात्रै छ । भक्तजनहरू आफ्नो भाकल पुरा भएपछि त्यहि रुखमुनीको स्थानमा बोकाको बलिका साथै घण्टा, त्रिसुल र ध्वजापताका चढाउँदछन् । बोका मंसिर कृष्ण पक्ष , जेष्ठ कृष्ण पक्ष र श्रावण कृष्ण पक्षको रात्रिमा मंगलवार, बिहीवार वा शनिवार पारेर चढाइन्छ ।
कसरी खेलिन्छ भोस्सो ?
प्रत्येक वर्ष भाइटीका दिन यस चुडयौलीथान परिसरमा मेला लाग्ने गर्दछ । दिउसो १ बजे सैगडा ,रावतकट्टे र धनरास गाँउबाट दाइना ,दमाहा र भोक्कर सहितको भोस्सो जात्रा आउँछ । यो रात्रीको जात्राको लागि अभ्यास जस्तै हो । दिउँसोको जात्रामा खुकुरी वा तरवारको सामूहिक चौलो खेल पनि खेलिन्छ । साँझ ५ बजेतिर मानिसहरू रात्रीको तयारीको लागि घरतिर फर्कन्छन् । राती लगभग १० बजेतिर खाना खाएर त्यसै मेला केन्द्र वरिपरिका सेगुनी गाँउ, अवस्थीगाँउ, साहनीगाँउ, ओझागाँउ आरा सेला, कोला, रिठारा , सुङ्गाल ,बेलटुक्रा, कोटेली, राउतकट्टे भाडी, लस्कर, फलेडी, भजना, सैगडा, विनोडा, धनरास, काफली, जिजिकोट, खैरीखोला, पिपलकन्डे र नकु गाँउबाट दाइन दमाहा र चौलो नृत्यकासाथ भोस्सो जात्रा निस्कन्छ । पहिले–पहिले निरौली गाँउबाट पनि जात्रा जुलुस आउथ्यो रे भन्ने भनाई छ । जात्रा अगाडि बढ्दैजान्छ । बाटामा पर्ने गाउँका मानिसहरू पनि थपिदै जान्छन् र भोस्सोजात्राको आकार झन्झन् ठुलो हुँदै जान्छ । त्यो जात्रामा वयस्क लोग्ने मानिस मात्रै हुन्छन् । रात्रीको भोस्सो जुलुसमा महिलाहरूको सहभागिता हुँदैन । जात्रामा चडयौलीथानका देवतालाई खुशी पार्न अश्लील नाराहरू पनि लगाउने गरिन्छ । यो धेरेै पुरानो संस्कृति हो । जुलुसमा एकजना मानिस नारा लगाउँछ बाँकी ‘भोस्सी रे भोस्से’ भन्दछन् । जात्रा विस्तारै अगाडि बड्दछ । राती लगभग ३ बजेतिर त्यही चडयौंलीथानको रुख वरपर चारैतिरबाट आएका जात्राका फौजहरूको लडाईको शैलीमा जस्तै ब्यूह रचना बन्दछ । अगाडिका बलिया मानिसहरूले लामो काठ लहरैसंग समाएर आफ्नो ब्यूह नफुट्ने गरी बलियो बनाएका हुन्छन् भने पछाडि अलि कमजोर र बुढाहरूलाई राखिएको हुन्छ । जुलुस बिस्तारै अगाडि बड्छ । राती ३:३० बजेदेखि ४ बजेको बिचमा चारैतिरबाट आएका भोस्सी जात्राहरू २ खेमामा विभाजित हुन्छन् । एउटा देउताको थान भन्दा माथिबाट आउने खेमा र अर्को तलबाट आउने खेमा हुन्छ । लगत्तै एक–अर्काको ब्युहरचना फुटाउने प्रतियोगिता जस्तै सांकेतिक घमासान लडाई नै चल्दछ । त्यो लडाई समाप्त भइसकेपछि दाइन,दमाउ जुझाउने प्रतियोगिता हुन्छ । सबैगाँउबाट आएका दाइनहरूलाई क्रमैसंग एक जना निर्णायक मानिसले जोर–जोरले बजाए पछि जुन गाँउको दाइन ठुलो आवाजमा बोल्यो त्यही गाउँको दाइनलाई निर्णायक जीतका रूपमा माथि आकाशतिर उचालेर फलानो गाँउको दाइनको जीतभयो भनि ठुलो स्वरमा घोषणा गरिन्छ । बिहान ४ बजेबाट भोस्सी जात्रा वापस घरफिर्ता हुन शुरु हुन्छ । यहाँको जनमानसमा ४ बजेभन्दा पछिसम्म त्यहाँ मेलास्थलमा रहे वाण पर्दछ भन्ने विश्वास छ । वाण पड्नु भनेको मिर्गी लागे जस्तै भुईमा पछारिनु र मुखबाट झाग आउनु हो ।