
कबिराम डाँगी
जोरायल
जोरायल क्षेत्रको प्रसिद्ध पिनाकेश्वर देवताको जाँत जोरायल कार्तिक १८ र १९ गते हुने भएको छ । पिनाकेश्वर जाँत(मेला) ब्यवस्थापन समितिका अध्यक्ष चन्द्रभान ठगुन्नाका अनुसार जोरायल क्षेत्रको प्रसिद्ध पिनाकेश्वर देवताको जाँत कार्तिक १८ गते राती रत्यौडी र कार्तिक १९ गते दिउसो दिउसेडी हुने छ ।
जोरायल गाउँ पालिका वडा नंं ४ सैगडा स्थित पिनाकेश्वर देवताको मन्दिरमा हरेक बर्ष कार्तिक शुक्लपक्ष दशमीतिथिका दिन बिशेष पूजाआजा तथा मेला लाग्ने गर्दछ ।
मेलालाई व्यवस्थित गर्नका लागि मेला ब्यवस्थापन समिति गठन गरिएको छ । समितिको निर्णय अनुसार मेलालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि मेला अबधिभर मदिरा बिक्रि बितरण तथा सेवनलाई पूर्ण रुपमा प्रतिबन्त्र लगाईएको छ । समितिको निर्णय बिपरित मदिराको बिक्रि बितरण गरिएमा रु. १० हजार र सेवन गर्ने लाई रु ५ हजार जरिवाना गरिने मेला व्यवस्थापन समितिका अध्यक्ष ठगुन्नाले जानकारी दिनु भयो ।
को हुन पिनाकेश्वर देवता ? पिनाकेश्वर देवताको ऐतिहासिक बृतान्त
लेखक : निर्मलकुमार भण्डारी
१ – विषय प्रवेश :
लगभग नबौं शताब्दि तिर डडेलधुरा जिल्लामा पर्ने अजयमेरुकोटगढबाट राजा नागमल्लले डोटीराज्यको शासन चलाइरहेका थिए । विवाह गरेको धेरै समयसम्म उनको कुनै सन्तान नभए पछि उनकी महारानी मौलाले आफ्नो माइतीबाट दाइजो मागेर ल्याएको (महाभारत कथामा घटोत्कच भनेर उल्लेख गरिएका भीम पुत्र) घटाल देवताको स्थानमा गई घोर तपस्या गर्दा घटालदेवताले आफ्नो ज्योतिर्मय स्वरुपको दर्शन दिई पुत्र प्राप्त हुने वरदान दिएका थिए भनेर (चटौत डोट्याली वृहद शब्दकोश) मा उल्लेख गरिएको छ । घटाल देवताकै कृपाले राजा नागीमल्ललाइ पुत्र रत्न प्राप्त भएको थियो । राजकुमारको नाम अठौतीमल्ल राखिएको थियो । त्यहाँको जनमानसमा उन्लाइ घटाल देवताकै अवतार मानिएको छ ।
२ – राजा नागीमल्लद्वारा देव परीक्षा :
लगभग बाह्रौ शताब्दितिर डोटीराज्यमा राजा नागीमल्लको शासन थियो । उनी आफ्नो राज्यभित्रका काम्ने धामीहरुको परीक्षा लिने गर्दथे । उनी आफ्नो किल्ला अजयमिरकोटमा भएको एउटा ढुङ्गामा रिठाका गुठुलीहरु मुनि बिछाई माथिबाट आसन लगाएर धामीहरु लाई काम्न लगाउँथे । जुन् धामीमा देवताको शक्ति हुदैन थ्यो, उ त्यहाँबाट चिप्लिएर तल नदीमा खस्दथ्यो र त्यहीँ डुबेर मर्दथ्यो । तर वास्तविक शक्ति सम्पन्न देवताका धामीहरुलाई भने केही हुँदैनथ्यो । उनले यस क्रममा यसक्षेत्रका विभिन्न देवताका धामीहरुको परीक्षा लिए । तर त्यस्तो अनुचित कृयाकलापबाट भागेश्वर, समैजी, वीरबेताल लगायतका त्यसस्थान वरपरका स्थानीय देवताहरु राजा नागीमल्लसंग रिसाएका थिए । नागी मल्लको दरवारमा अनिष्ट हुन लाग्यो । उनकी रानी पनि काम्न लागिन् । त्यस पछि थप अनिष्टको आशंकाले डराएका राजा नागीमल्लले अजयमीरकोट दरवार त्याग गरेर अछाममा गइबसेका थिए भन्ने किंवदन्ती छ । यस विषयमा भागेश्वरको चैत लगायत अन्य चैत धमारीहरुमा पनि वर्णन गरिएको पाइन्छ । तर यहाँ के बुझ्न आवश्यक छ भने यि ‘नागी मल्ल’ र माथि उल्लेख गरिएका ‘नाग मल्ल’ फक–फरक राजाहरु हुन् ।
३ – जुम्लाका राजा अठौतीमल्ल हुनु :
कालान्तरमा उनकै पुत्र अठौती मल्ल जुम्लाका राजा भए । त्यतिबेला सुदूरपश्चिमका अधिकांश राज्यहरु जुम्ला राज्यको अधिनमा थिए । यस क्षेत्रमा पर्नेसबै राजाहरु जुम्ला राज्यलाइ कर बुझाएर आफ्नो राज्य चलाउँथे । राजा अठौती मल्ल प्रतापी र वीर थिए । उनको खपरेनाम गरेको अत्यन्तै शुरवीर र बलवान सेनापति थियो । राजा अठौतीमल्लको कुलदेवता ‘मष्टो’ थियो । मष्टो भनेको अनार्य (अथवा हिंदु वैदिक देवि–देवता अन्तरगत नपर्ने) देवता हो । जुम्ला राज्यमा बौद्घलामाहरुको विशेष प्रभाव थियो । राजा अठौती मल्लले पनि बुद्घधर्म स्वीकार गरेपछि उनले आफ्नो कुलदेवता मष्टो बाहेक त्यहाँ पुजिदै आएका अन्य ग्रामीण देवताहरुलाइ पुज्न निषेध गरिदिए । उनी यहाँ परम्परादेखी पुजिदै आएका विभिन्न देवी–देवताहरुको स्थानमा गई घोडाबाट ओर्लिदैनथे । अथवा राजाले देवतालाइ घोडाबाट ओर्लिएर सम्मान गर्नु पर्ने परम्पराको अवहेलना गर्दर्थे । उनका सल्लाहकार बौद्घलामाहरु मात्रै थिए । बौद्घलामाहरु बुद्घधर्मका अनुयायी हुनु अघि बोनधर्म मान्दथे । बोन धर्म घोर तान्त्रिक पद्घतिमा आधारित प्रकृतिपूजक धर्म हो । यसको छुटपुटस्वरुप अहिले पनि मुगु जिल्लामा हेर्न सकिन्छ । त्यति बेलाका बोन धर्मावलम्बीहरुले बुद्घधर्मलाइ अंङ्गीकार गरे पनि आफ्नो बोन तान्त्रिक पद्घित र परम्परा भने छोडेनन् । अझै पनि बौद्घगुम्बाहरुमा ढ्याङ्ग्रो बजाउने लगायतका विभिन्न कर्मकाण्डहरु बोनधर्म बाटै आएका पद्घतिहरु हुन् । भगवान बुद्घले यस्ता कर्मकाण्डहरु गर्नु भनेर उल्लेख गर्नु भएको कहि पनि पाइँदैन । तिनै लामा सल्लाहकारहरुको सल्लाहमा अठौती मल्लले डोटी जिल्लामा पर्ने कफल्लेकी केदारको लिङ्ग समेत उखेलेर लैजान खोजे, तर सकेनन् भनेर डोटी मुडेगाँउ निवासी श्री पदमराजजोशी भारद्वाजले आफ्नो ‘कालोपातल’ भन्ने ग्रन्थमा उल्लेख गरेका छन् ।
४ – सेनापति खपरेको प्रसंङ्ग :
जुम्लाका राजा अठौती मल्लको वीर सेनापति खपरे थियो । खपरे गाइ काटेर मासु खाने गर्दथ्यो ,भनेर त्यहाँको संस्कृतिमा आधारित फाग, धमारी, भोलाउलो, चैत,बाँतै इत्यादीबाट सुुन्न सकिन्छ । यसबाट के प्रष्ट हुन्छ भने खपरे या त बोन धर्मावलम्वी थियो, या त्यतिबेला भारतमा प्रवेश गरिसकेका मुसलवान आक्रमणकारीहरु मध्येको कुनै एक योद्घा थियो । जो जुम्ली राजाले शक्तिशाली मुसलवान शासकहरुसंग गरेको हुन सक्ने सन्धी अनुसार जुम्लाराज्यमा नै रहन्थ्यो । किनभने प्राचीनकालमा जुम्लाराज्यमा आएर बसोवास गर्ने मुसलवानहरुका केही छुटपुट परिवारहरु अझैपनि अछाम जिल्ला लगायतका अन्य स्थानहरुमा भेट्न सकिन्छ ।
५ – खापरेसंग देवीदेवताको युद्ध :
अठौतीमल्लको निर्देशनमा उनकै सेनापति खापरेको दलले तराइतिरका विधर्मीहरुको समेत सहयोग लिइ यो सुदूरपश्चिमको अधिकांश भू–भागमा एउटा सैनिक अभियानको थालनी गर्योे । यो आक्रमणको प्रमुख उदेश्य यहाँ पुजिदै आएको प्राचीन देवी देवताहरुको पूजा बन्द गराएर त्यस ठाउँमा आफ्नो कुलदेवता मष्टोको स्थापना गरी पूजा चलाउनु थियो । उसको पहिलो मोर्चाको आक्रमण डडेलधुरा जिल्ला भन्दा पश्चिम र भारतको कुमाउँ पिथौरागढ भन्दा पूर्व तिरपर्ने देवताहरु माथि भयो । यो आक्रमण गर्नु पूर्व खापरेको सेनाले भारत उत्तराञ्चलमा पर्ने कुमाउँ र पिथौरागढ माथि विजय पाइसकेको थियो भन्नेकुरा त्यहाँ अझै पनि मष्टोको पूजा हुने कुराबाट थाहा पाउँन सकिन्छ ।
५.१ – पहिलो मोर्चाको युद्ध :
पिथौरागढबाट महाकाली नदीका किनारामा रहेको झुलाघाटमाथिको गाँउ मजेरकाँडामा खापरेको सेनाको दल् पुगेको जानकारी सर्वप्रथम वैतडी जिल्लाकी त्रिपुरासुन्दरी(रणसैनी) देवीले थाहा पाइन् । उनले यो समाचार तुरन्त बेर नगरी पुजारा गाउँबाट निङ्गलासैनी देवी देहिमाण्डौ लाइ तथा त्यहीँ बाटै बैतडी र दार्चुला जिल्लामा पर्ने अन्य देवदेवीहरु महारुद्र, ग्वाल्लेक केदार, रौला केदार, सिद्घ केदार, भूमिराज, नागार्जुन, सिउनाथ, मल्लिकार्जुन र जगन्नाथ देवतालाइ पठाईन् । देवताहरुको आकस्मिक बैठकमा ग्वाल्लेक केदारको नेतृत्वमा खापरे संग युद्घ गर्ने निर्णय गरियो । त्यतिबेला बैतडी पाटनमा राज्य चलाइरहेका एकजना चन्द वंशीय राजो र डोटी निरौलीका राजाले पनि यो युद्घमा देवताहरुको साथ दिएका थिए भन्ने किंवदन्ती छ । त्यस बेला खापरेका संङ्ग गएका तन्त्रविद्याविशारद बौद्ध लामाहरुले उत्तराञ्चल राज्यमा स्थित चम्फावत जिल्लामा पर्ने पूर्णागिरी भगवतीलाई पनि मन्त्रद्वारा सिद्ध गरेर आफना अधिनमा गरी जुम्ला लैजान खोजेका थिए । तर पूर्णागिरी देवीले यो कुरा चालपाए पछि उहाँ महाकाली पारी हाल नेपालमा पर्ने सिद्धनाथ देवताका क्षेत्रमा गएर लुक्नु भएको थियो रे । त्यहाँ पुगेका तान्त्रीक लामाहरुले पूर्णागिरी देवीलाई प्रवल तारणमन्त्र द्वारा आकर्षण गर्नथाले पछि सिद्धनाथ देवताले उनिहरुको मन्त्र अनुष्ठानमा बिघ्न पैदागरि अनुष्ठान निस्प्रभावी बनाइ दिएका थिए । यसरी लामाहरुको अनुष्ठान सफल हुनसकेन र पूर्णागिरीमातालाई उनिहरुले आफूसंङ्ग लैजान सकेनन् । त्यसैले आजभोली भक्तहरु पूर्णागिरी भगवतीको दर्शन गरेर उहाँको प्रशन्नताको लागी सिद्धनाथ देवताकोे पनि दर्शन गर्ने गर्दछन् । यसप्रकार सिद्धनाथको दर्शन बिना पूर्णागिरी देवीको दर्शन अधुरो मानिएको छ । युद्धमा खापरेको हार भए पछि ती राज्यहरु पनि जुम्ला राज्यबाट स्वतन्त्र भएका थिए ।
५.२ – दोश्रो मोर्चाको युद्ध :
खापरेको सेनाकोे दोश्रो मोर्चा संगको युद्घ डोटी जिल्लाको मुडेगाउँमा पर्ने कालोपातल क्षेत्रमा आएको थियो । यसक्षेत्रका देवताहरु गन्याप, घण्टेश्वर, भागेश्वर र काफली केदारले कपल्लेकी केदारको नेतृत्वमा खापरेको सेना संग लड्न आफ्ना सबै दलबलहरु कपल्लेकी केदारलाइ उपलब्ध गराएका थिए । यहाँ पनि खापरेको सेनाको हार भएको थियो । यसै देवसेनाले खप्तड क्षेत्रमापर्ने खप्तडतालमा खापरेको बध गरेको थियो भन्ने किंवदन्ती छ ।
५.३ – तेश्रो मोर्चाको युद्ध :
खापरेका सेनाको तेश्रो मोर्चाको युद्घ डोटी जिल्लाकै बाह« बोगटान क्षेत्रका देवता मोहन्या लदेवताकोे दल्–बल् संग सेती र कर्णाली नदीको संगम नजिकाको सेरोफेरोमा भएको थियो भन्ने भनाइ छ । त्यहाँ पनि खापरेका सेनाको मोहन्याल देवताको सेना संग हार भएको थियो । यी तीनवटै लडाइमा दुबै पक्षको धेरै धन–जनको क्षति भएको थियो भन्ने किंवदन्ती छ । यहाँ देवी–देवताका दल् भनेको ती संवन्धित देवताहरुका कार्यकर्ता वा भक्तजनहरुको दल् हो भनेर बुझ्नु आवश्यक छ । किनभने वायुरुप देवी–देवताहरु र प्रत्यक्ष शरीर धारी खापरेको सेना संग नत्र कसरी युद्घ भएको हुनसक्छ र ? त्यो युद्घमा अंग भंग हुने तथा वीरगति प्राप्तगर्ने सबै योद्घाहरु लाइ मरणोपरान्त देवत्व प्राप्त गराइ पूजा गर्ने गरियो । अझैं पनि विभिन्न जाँतहरुमा धामीहरु काम्दा कुनै कुनै धामीहरु लङ्गडो भए जस्तो,कुनै अन्धो भए जस्तो गरेर काम्ने गर्दछन् । जुन् त्यसै युद्घमा अपाङ्ग भएका योद्घाहरुका आत्माहरु हुन् , जस्लाइ संवन्धित देवी–देवताले मरणोपरान्त देवत्वप्राप्ति गराएका थिए भनेर बुझ्न सकिन्छ । त्यो लडाइमा खापरेको सेनाको ठूलो पराजय भए पछि जुम्लाराज्य नष्ट–भ्रष्ट भयो । मातहतका धेरै राज्यहरुले राजा अठौतीमल्ललाइ करबुझाउन बन्द गररे आफ्नो राज्य स्वतन्त्र गरेका थिए । डोटीराज्य पनि त्यसै बेलादेखी स्वतन्त्र भएको थियो ।
६ – यो कथाको प्रमाण :
सुदूरपश्मिको संस्कृतिमा यो कथासंग सम्वन्धित कैंयौं चैत, धमारी, फाग,भोलाउलो, बाँतै इत्यादी छन् । त्यस युद्घमा खापरे पराजीत भए संगै हालको दार्चुला ,बैतडी ,डडेलधुरा र डोटीको अधिकांश क्षेत्र राजा अठौती मल्लको कब्जाबाट मुक्त भयोे भने बाजुरा र डोटीको सिमानामा पर्ने खप्तडलेकको खप्तड तालमा सेनापति खापरे लुकेर गायब भयो । यो खापर बधको कथामा तीनवटै मोर्चामा खापरे मारिएको अलग–अलग प्रसंङ्गहरु छन् । कुनै कथामा सेनापति खापरे खप्तड तालमा गायब भएर फेरि नभेट्टिएको भन्ने पनि छ । पराजय पछि राजा अठौती मल्लले त्यसै ताललाइ राज्यको नयाँ सिमाना मान्दै प्रतिद्वन्दी देवताहरुसंग युद्घविरामको संन्धी गर्दै युद्घ अन्त्य गरे । त्यो संधि पछि अठौती मल्लको कब्जाबाट मुक्त गराइएको भू–भागमा मष्टो देवताको पूजा गर्न बन्देज लगाइयो । अझै पनि मष्टादेवताका यस्ता धेरै पूजाबाट रहित स्थानहरु यो क्षेत्रमा देख्न सकिन्छ । डोटी जिल्लाको सेती नदी पूर्व मात्रै मष्टाका स्थानहरु छन् । हुन त केही मष्टाका स्थानहरु सेती नदी पश्चिम तिर पनि छन् ,तर ती सबै लडाइपछि स्थानीय देवी–देवताका शरणमा आएका मष्टाहरु मात्रै हुन् भन्ने किंवदन्ती छ ।
७ – पिनाकेश्वर देवताको अछाम जिल्लाबाट पलायन :
हालको अछाम जिल्लाको कुनै एक ठाउँमा पिनाकेश्वर देवताको निवास थियो । उनको मष्टा देवतासंग बैर थियो । देवताहरु र खापरेको लडाइमा देवताहरुको साथ दिएका पिनाकेश्वरले युद्घविराम पछि आफू बसेको क्षेत्र पुन: मष्टाकै क्षेत्र भित्र पर्ने भएकोले त्यहाँबाट अन्यत्र जाने विचार गरे । एकदिन त्यसै क्षेत्रबाट एकजना उपाध्याय भाट ब्राह्मणको परिवार सधैको निम्ति बसाइ–सराइ गर्दै अन्यत्र जान लागेको देखेपछि पिनाकेश्वर पनि उनले बोकी रहेको डोको भित्र छिरे । आफ्नो भौतिक प्रतिकको चिन्ह घाँट पनि डोको भित्र छिराए । यात्राको क्रममा त्यो परिवार डोटी दिपायलको सेती नदी पूर्व सिलगढी जाने बाटोमा पर्ने द्वारीखोलामा बास बस्यो । त्यसै द्वारी खोलामा निवासगर्ने अर्को ‘पणरे’ देवता पनि युद्घमा देवताले जितेको भू–भागमा जाने इच्छा राख्दै पिनाकेश्वरसंगै त्यसै डोकोमा प्रवेश गर्यो । त्यो भाट परिवार डोटी जिल्लाको जोरायल गा.पा.३ मा पर्ने सुनिखोला भन्ने गाउँमा आएर बस्यो । त्यहाँ आइसके पछि डोकोबाट सामान उतार्ने क्रममा उसले आफ्नो डोकोमा सुन्दर सुनौलौ घाँट देखे पछि छक्क पर्यो । त्यसै राती स्वप्नमा उसलाइ पिनाकेश्वर देवताले त्यो घाँट आफ्नो भएको र आफु तिनि संगै अछामबाट यहाँ आएको कुरा वेली–विस्तार लगाए । साथै मेरो स्थापनागरी पूजा चलाए तिम्रो कल्याण हुनेछ भने पछि भाट परिवारले पनि पिनाकेश्वर र ‘पणरे’ देवतालाइ त्यही नजिकै स्थापना गरी पूजा चलाएका थिए भन्ने किंवदन्ती छ ।
केही वर्ष पछि सुनिखोलागाउँ बाट नजिकै पर्ने लस्कर गाँउको राजाले त्यो भाट परिवार संग अकुत सम्पत्ति भएको चाल पायो । उसले राती घरमा आइ सो सम्पत्ति माग गर्दा भाटपरिवारले नदिए पछि डाँका हाली सबै सम्पत्ति लुटेर लग्योे । त्यो ब्राह्मण परिवार पनि राजाको डरले पुन: भागेर अछाम फर्कियो । यता लस्करगाउँको राजासित पिनाकेश्वर देवता रिसाए । उन्लाइ भान्सामा गएपछि मात्रै दिशाहुने अन्यत्र नहुने र त्यस्तै लौका जातको तरकारी जसलाइ यहाँको स्थानीय भाषामा चिण्णो भनिन्छ, त्यो भित्र मात्रै पेसाव हुने अन्यत्र नहुने रोग लाग्यो । यसलाइ स्थानीय जनमानसमा “चुला हगन, चिण्णा मुतन” भनेर भनिन्छ । राजाले यस्तो किनभयो होला भनेर विभिन्न देवताका धामीहरुलाइ कमाएर सोद्धा ती धामीहरुले तिमीले ब्रह्मस्व हरण गरेकोले पिनाकेश्वर देवता रिसाएर यस्तो हुन गएको हो र तिनै ब्राह्मणले माफी दिएमा मात्रै तिम्रोरोग निको हुने छ , भन्ने उत्तर दिए पछि ती धामी हरुको सल्लाह अनुसार राजा अछाम गए । राजाले त्यो भाट परिवारलाइ खोजी त्यसको शरणमा परे । आफुले लुटेको भन्दा ७ गुना बढी सम्पत्ति दिने बाचा गर्दै उनी त्यो भाट परिवारलाइ पुन: जोरायल फर्काउन सफल भए । त्यसपछि राजाले बाचा अनुसारको सम्पत्ति उन्लाइ दिए पछि उनको रोग पनि निको भएको थियो भन्ने किंम्बदन्ती छ ।
८ – गुफाकेदारको नायवी :
डोटी जिल्लाको जोरायल गा.पा. ४ नकु भन्ने गाउँमाथि रहेको सुन्दर टाकुरामा एक प्रसिद्घ पौराणिक स्थल छ । जसको नाम गुफाकेदार हो । यो स्थान एक उच्च पहाडको टाकुरामा अवस्थित अद्भुत एवं विकट गुफा भित्र पर्दछ । त्यसबेला त्यहाँका केदार देवताको आफ्नोे पुजारी नभएकोले उनले पिनाकेश्वर देवतासंग पुजारी माग गरे । पिनाकेश्वर देवताले पनि भाट ब्राह्मणका २ वटा छोरा भइसकेकाले एउटा छोरा गुफाकेदार र निरौली गाउँमा नजिकैपर्ने पर्ने श्रीमहादेउ देवताको पूजा गर्न भनि पुजारी उपलब्ध गराए । महादेउ श्री घण्टेश्वर देवताका भानिज नाता पर्ने देवता मानिन्छन् । एउटा पुजारीमात्रै आफ्नो लागी राखे । केही वर्ष पछि गुफाकेदारलाइ चारधाम तीर्थ यात्रा जान मन् लाग्यो । उनले आफु न फर्कदा सम्म आफ्नो क्षेत्रको रेखदेखका लागी पिनाकेश्वर लाइ नायवी दिए । साथै मेरो राजगद्दीमा नबस्नु भन्ने आज्ञा पनि दिए । पिनाकेश्वरले हुन्छ भनेर स्वीकार गरेपछि गुफाकेदार तीर्थ यात्रामा निस्किए ।
गुफाकेदार तीर्थयात्रामा गए पछि नायवी मात्र पाएका पिनाकेश्वर उनको आज्ञा विपरित त्यहाँको राजगद्दीमा बसे । केदारका चौकीदार मानिने खैरीखोला गाउँ नजिकैको मसानीलाइ यो कुरा केदार आएपछि नभन्नु , भन्यो भने नराम्रो हुनेछ भनेर हप्काए । तर केदार फर्के लगत्तै मसानीले पिनाकेश्वर गद्दीमा बसेको कुरा केदारलाइ बेली विस्तार सुनाइ हाले । रिसले चुर भएका केदारले पिनाकेश्वरलाइ बाँधेर एउटा ढोल भित्रहाली कर्मनासा नदीमा बगाइ दिए । नदीमा आउँने कुनैपनि बस्तुले उसकै बेगसंग बग्नुपर्ने नियम विपरित पिनाकेश्वर हालिएको ढोल उल्टो नदीको मुहानतिर बग्न लाग्यो । यस्तो पिनाकेश्वरमा रहेको अदभुत शक्तिले गर्दा भएकोथियो । त्यो ढोल जोरायल क्षेत्रमा प्रवेसगरी सके पछि त्यो दृष्य श्री घण्टेश्वरदेवता मातहतका देवताहरुले देखे । उनिहरु पनि छक्क परे । ती देवताहरुले तुरन्त यो खवर श्री घण्टेश्वर देवतालाइ पठाए । घण्टेश्वरले यस्तो शक्ति सम्पन्न पुरुषलाइ आफ्नो समुहमा मिलाइराखे भविष्यमा धेरै काम आउन सक्ने विचार गर्दै पिनाकेश्वर लाइ बन्धनमुक्त गराएर ढोलबाट बाहिर निकाली आफ्नो दलमा मिलाएका थिए ।
९ – नाइल तालको दैत्य बधको किंबदन्ती :
डडेलधुरा जिल्लाको जोगबुडा क्षेत्रमा पर्ने नाइल नामक तालमा एउटा राक्षस सपरिवार बस्ने गर्दथ्यो । ऊ प्रत्येक रात एउटा मानिस मारेर खाने गर्दथ्यो । जसलाइ उ खानका लागी चुन्दथ्यो त्यो मानिसलाइ पहिले भूत लागे जस्तै हुन्थ्यो । राति भए पछि त्यो मानीसलाइ घसिटेर नाइल तालमा लगी उसलाइ डुबाएर मार्दथ्यो र उसको रक्तपान गर्दथ्यो । आतङ्कले चरमरुप लिएपछि त्यहाँकी एकजना स्थानीय बृद्घमहिलाले ‘यो उपद्रव शान्त भएमा आफ्नो गच्छे अनुसारको चिनो बानो चढाउँला’ भनेर श्री घण्टेश्वर देवताको भाकल गरिन् । श्री घण्टेश्वर देवतालले तुरन्त आफ्नो देवदललाइ नाइल तालको राक्षस मार्न आदेस दिए । घण्टेश्वरको आदेश अनुसार राक्षस मार्ने अभियानमा जोरायल क्षेत्रबाट भेटा समैजी, खैगा:ड समैजी,बेताल ,लङ्गरी, मट्टे , पसो, कफ्लडो ,अकड्काँजी इत्यादी देवताहरुका साथ–साथै पिनाकेश्वर देवता पनि त्यसतर्फ प्रस्थान भए । त्यस भन्दा अगावै खारगाउँका ५ बटा राक्षस मार्नमा सहयोग गर्ने डडेलधुरा जिल्ला गन्यापधुरा गा.पा. १ रुवाखोलाका असिउदेवता को द्वारपाल मणालिङ्ग मसानीलाई पनि साथै लिएर गए । तलाउको समिपमा पुगेपछि सर्बप्रथम तिनै मणालिङ्ग मसानी तलाउमा पसे त्यसपछि क्रमस: बाँकी देवताहरु भित्र प्रवेस गरे । त्यो देव दलमा सबै देवताहरुले तालभित्र प्रवेश गरेर राक्षससंग घमासान लडाइगरी उसको बध गरेर तालबाहिर आए । ताल बाहिर आउँदा पिनाकेश्वरलाइ देखेनन् । धेरै बेर प्रतिक्षा गर्दा समेत उहाँ ताल बाहिर नआएकाले समैजी देवता उनको खोजी गर्न पुन: तालभित्र छिरे । समैजीले पिनाकेश्वरलाई त्यसै राक्षसकी श्रीमती संग सम्भोग गरिरहेको अवस्थामा फेला पारे । त्यसपछि समैजीले यस्तो अनुचित काम किन गर्दैछौ ? भनेर पिनाकेश्वरलाई प्रश्न गरे । पिनाकेश्वरले ‘आज गल्ती भइहाल्यो आइन्दा देखी गर्ने छैन , एक पटकलाइ माफ पाउँ भनि समैजी लाई आग्रह गर्न थाले । समैजीले पनि माफी दिनु मुनासिव सम्झी पिनाकेश्वरलाइ माफी दिए । तालबाहीर जानु भन्दा अगाडी यो कुरा अन्त कहीँ–कतै नभन्दिनु होला गोप्य राख्नुहोला है मितजी, भनेर पिनाकेश्वरले समैजी संग अनुरोध गरे । समैजीले हुन्छ भनेर स्वीकार गरेपछि समैजी संगै त्यसैवखत पिनाकेश्वरले मितेरी पनि लगाएका थिए भन्ने किंवदन्ती छ । अँझैं पनि पिनाकेश्वर र समैजीका धामीहरु कामेका बेला एक् आपसमा मित–मित भनेर सम्बोधन गर्ने गर्दछन् ।
तर यो कुरा गोप्य रहन सकेन । नाइलतालकी राक्षसिनीले पिनाकेश्वरले आफुसंग अवैध शारीरिक संवन्ध गरेको कुरा सार्वजनिक गरे पछि देवसभाले पिनाकेश्वरलाइ जातिच्युत गरेको थियो रे । उनी अव उप्रान्त अन्यदेवता हरुको साथ–साथै पूजा नपाउँने भए । त्यसै दिन्देखि उनको दर्जा पनि घटाइएकोे हो भन्ने किंम्बदन्ती छ । पिनाकेश्वर देवतालाई महिलाको बातकसुर लागेकाले उनका धामीहरुलाई पनि त्यस्तै बातकसुर लाग्ने गरेको पाइएको छ ।
१० – भाट पुजारीद्वारा पिनाकेश्वरको पूजा बन्द गरिनु र घाँट फालिनु :
एकदिन कुनै कारणवस पुजारीले पिनाकेश्वर देवताको घाँट कर्मनासा नदीमा फालिदिए साथ–साथै ती देवताको पूजा पनि सधैका लागी बन्द गराइ दिए । त्यस पुजारी परिवारका अन्तिम ज्ञात सदस्य भनेका लालमनी भाट (लल्लाभाट) हुन् । त्यस परिवारको कुनैपनि सदस्य अहिले जोरायल सुनिखोलामा छैनन् ।
केही दिन पछि जोरायलगा.पा. वार्ड नं ३ सैगडा गाउँका एन जना खड्का र एक जना मडै थरका व्यक्ति त्यसै घाँट फलिएको नदीमा जालले माछा मार्न आए । जालहान्दै गर्दा त्यो फालिएको घाँट जालमा परेछ । जाल बाहिर ल्याएर हेर्दा त हातमा समाउने किसिमको सुनौलो वर्ण भएको अतिनै सुन्दर घाँट पाउँदा ती दुवै जना छक्क परे । त्यो निश्चय नै कुनै देवताको हुनु पर्दछ भन्ने ठम्म्याएर घाँट घरमा ल्याए । एकान्त र पवित्र स्थानमा सुरक्षितका साथ राखेर साझ बिहान धुप–बत्ती गर्न लागे । केही महिना पछि तिनै मडैको छोरामा पिनाकेश्वर देवता कामेर आफ्नो सम्पूर्ण बृतान्त सुनाए । ‘सयगडा’ गाउँका सबै मडै, पाली, र खड्काहरुले बालकमा कामीरहेका देवता अत्यन्तै बलवान र समर्थवान हुन् भन्ने थाहापाइ ती देवतासंग हामी तपाईलाइ कुलदेवता मानी पूजा–आजा र जात्रा चलाउने छौ, आजदेखी यतै बास गर्नुहोस् भनेर विन्ती चढाए । पिनाकेश्वर देवतालेपनि त्यो निवेदनलाइ स्वीकार गर्दै त्यसै दिन देखी आजसम्म मडै, पाली, र खड्काहरुका कुलदेवता भई सयगडा गाउँमा पुजिदै आइरहेका छन् । कालान्तरमा भाट पुजारीका सन्तानहरुले आफ्नो देवताको घाँट सयगडा गाउँमा देखिएकोले त्यहाँका खड्काहरुलाई देवताको चोरी गरेको आरोप लगाउदै चोर भन्ने गरेका थिए । तिनै भक्तहरुले पछि जोरायल गा.पा. वार्डनं ४ सयगडा गाउँभन्दा तल नदी देखि पारी पट्टि ढुङ्गाले चिनेर पिनाकेश्वरको सुन्दर माण्डौ बनाएका थिए । त्यो माण्डौ भित्र घण्टेश्वर, समैजी, पासो, बेताल, पिनाकेश्वर देवताका लिंङ्गहरु स्थापना गरी प्राण प्रतिष्ठा गराएका थिए । पूजागर्ने तिथि कार्तिक शुक्ल दशमीका राती र जात्रा गर्ने तिथि त्यसैको भोलिपल्ट पर्ने हरिबोधनी एकादशीका दिन कायम गरिएको थियोे । पूजा र जात्रा चलाउन पुजारी, धामी, भणरे, माली, फौदार, भै–भलादिमी र अन्य स्वयंसेवक कार्यकर्ताको समेत व्यवस्था गरिएको थियो ।
११. पिनाकेश्वर देवताको शक्तिको महिमा :
श्री ५ पृथ्वीनारायण शाहले नेपाल एकिकरण गरिसके पछि राणा शासन नआउँदै एकजना पिनाकेश्वरका धामी कुनै महिलासंग बातकसुर लागेको अभियोगमा डडेलधुरा जेलमा सजाय काट्दै थिए । त्यस बेला नेपाल अधिराज्यमा लामै खडेरी पर्यो । राजाले जानेबुझे जतिका सबै पूजा कर्मकाण्ड इत्यादी गरे पनि बर्षा भएन । डडेलधुरा जेलका जेलरले पिनाकेश्वरदेवता भक्तजनले माग गरेकै समयमा पानी पार्न सक्छन् भन्ने सुनेका थिए । जस्का धामी उनकै जेलमा सजाय काटी रहेका थिए । उनले यो कुराको आफूले जानेबुझे जतिको सबै बृतान्त लेखी काठमाण्डौ दरवारमा पठाए । यस्तो समाचार आए पछि नेपाल दरबारबाट तुरन्त ४/५ जनाको टोली डडेलधुरा पठाइयो । त्यो टोली डडेलधुरा पुगेपछि पिनाकेश्वरका धामीलाइ जेलबाट नेल हतकडी खोली बाहिर निकालियो । टोली प्रमुखले आफु काठमाण्डौ दरबार बाट आएको र यहाँ आउँनाको कारण धामीलाइ सुनाए पछि धामीमा पिनाकेश्वरदेवता अवतार हुन सुरु भयो । कामीरहेका धामीले ती दरबारीयाहरु लाइ तिमीहरुलाइ मेघ कहिले चाहिन्छ ? भनेर सोधे । दरबारीयाहरुले अहिलेनै चाहिन्छ प्रभो ! भने पछि तुरन्तै मेघ आयो । दरबारीयाहरुले त्यहाँ ल्याइएका कागजपत्रहरु समेत भित्र लगेर राख्न भ्याएनन् । ती कागजपत्रहरु त्यहीँ भिजेका थिए भन्ने भनाइ छ ।
त्यस्तै आज भन्दा करीव १२५ वर्ष अगाडि डडेलधुरा जिल्लामा पर्ने घटाल देवताको जात्रा र जोरायल क्षेत्रबाट पिनाकेश्वर देवताको जात्रा डडेलधुरा जिल्लामै पर्ने जोगबुडाको परशुराम तीर्थ क्षेत्रमा स्नान गर्न भनि एकै साथ जोगबुडाको सिमलखेत भन्ने ठाउँमा बास बस्न पुगे । त्यहाँ पिनाकेश्वर देवता र घटालमा हामी दुई मध्ये को ठूलो हो ? भन्ने कुरामा विवाद पर्यो । विवाद बढ्दै जादा घटाल देवताले सातसुप्पा बालुवा ल्याउँन भनी आफ्ना कार्यकर्ता हरुलाइ नदि क्षेत्रमा पठाए । बालुवा ल्याइसके पछि त्यो सप्पै बालुवा घटालको धामीले खाएर म ठूलो हुँ ,भन्न्ने दावी गरे । घटाल बालुवा खानमा दक्ष मानीन्छ । अझै पनि घटालको जात्रामा धामीले बालुवा खाएको प्रत्यक्ष हेर्न सकिन्छ । तर पिनाकेश्वरलाइ भने बर्षा उराउँने कलामा महारत हासिल थियो । उनि बालुवा खादैन थिए । उनि त्यो बालुवा खानुलाई जादू वा चटक मात्रै मान्ने गर्दथे । त्यसले गर्दा दुबै देवताहरुको मन मुटाब बढ्दै गयो । उक्त दिनबाट घटालको आल वा क्षेत्र भित्रपर्ने कुनै व्यक्तिको जोरायल क्षेत्रका मानीसहरु संङ्ग झै–भगडा वा विवाद गरे तिनिहरुलाई पिनाकेश्वर लागेर धेरै दु:ख दिने गर्दछन् । अँझैंपनि यस्ता सयकडौ उधाहरणहरु पाउँन सकिन्छ । एउटा उदाहरण यस्तो छ : धेरैवर्ष अघि डडेलधुरा जिल्लाका एकजना विष्ट थरका धनाढ्य साहुकार जोरायल क्षेत्रमा रहेका आफ्ना आसामीहरुबाट आफ्नो लगानी साउँ–व्याज इत्यादी असुल गर्न भनि घोडामा चढेर जोरायल तर्फ आउदै थिए । यात्राको क्रममा उनी बाटोमा पर्ने यसै पिनाकेश्वर देवताको मन्दीर नजिक पुगे पछि त्यहाँका स्थानीयहरुले यहाँ देवताको स्थान भएकोले घोडाबाट ओर्लिनुहोस् भन्ने अनुरोध गरे । तर ती साहुकार घोडाबाट ओर्लिएनन् । उल्टो देवता त तिमीहरुको हो, मेरो होइन भन्ने उत्तर दिदै आफ्नो बाटो लागे । साहुकार फर्केर डडेलधुरा आफ्नो घर आए । उनकी श्रीमती कामी रहेकी थिइन् । यस्तो पिनाकेश्वर देवता रिसाएर भइरहेको थियो । काम्ने व्यथा धेरै प्रयास गर्दा पनि नरोकिने भयो । स्थानीय देवी–देवताका धामीहरुलाइ यस विषयमा सोध्दा तिमीले पिनाकेश्वर देवताको अपमान गरेकोले तिनै देवता रिसाएर यस्तो भएको हो भन्ने उत्तर पाइयो । अन्तत: ती सेठ पिनाकेश्वरका जात्राका दिन जोरायल सयगडामा आए । काम्दै गरेका पिनाकेश्वर देवतामा धामीलाई आफ्नो विन्ती लगाए । पिनाकेश्वर देवताले त्यो दिन तिमीले मेरो अपमान गरेका हुनाले तिम्रो घरमा अशान्ती आएको हो । तिम्री श्रीमती कमाउँने मै हुँ भने पछि ती साहुकार पिनाकेश्वरका शरणमा परे । त्यसपछि देवताले सजाय स्वरुप ती साहुकारलाई आफ्नो जात्राका दिन सन्तान दर सन्तान उपवास बसी पुज–पोखल लिएर यहाँ जोरायलमा आए पछि मात्रै काम्न रोकिने छ र घरमा पनि सुख शान्ति हुँँनेछ भने पछि साहुकारले सजाय मञ्जुर गरे । अझै पनि ती सेठका सन्तानहरु पूर्व सर्त अनुसार यो जात्रामा आउँदै गरेका छन् ।
१२ – पिनाकेश्वर देवताको क्षेत्र (आल) :
प्राचीनकालमा श्री घण्टेश्वरदेवताको सभापतित्वमा समैजी, पासो, बेताल, लङ्गरी इत्यादी देवताहरु समेतको उपस्थितिमा देवसभा राखी सो सभाले पिनाकेश्वर देवताको जात्रा चलाउँनका लागी सीख उठाउने सिमाना कायम गरेको थियो । जस अनुसार डोटी जोरायल गा.पा.४ सत्भरा गाउँको तल्लो बाँज देखी दक्षिण बाँकि जोरायलको पुरै क्षेत्रमा पिनाकेश्वरको सीख उठ्ने भनी देवसभाले अनुमोदन गरेको थियो ।
१३ – हालको मन्दिर :
पुरानो माण्डौ भत्किएकोले यस देवताको क्षेत्रभित्रपर्ने सयगडा, भिणानी, सत्भरा गाँउका सबै मडै ,पाली, खड्का कार्यकताहरु , पन्थ्यौडा गाउँका पन्त परिवार बाट र पुरै जोरायलक्षेत्रका अन्य भक्तजनहरुबाट स्व–इच्छाले दिएको चन्दा संकलन गरी सयगडा गाउँका टिका सिहं मडैको अगुवाइमा २०४७ साल कार्तिक ७ गते हालको मन्दिरको शिलान्यास गरिएको थियो । २०४८ साल कार्तिक शुक्ल एकादशीका दिन त्यस मन्दिरको प्राणप्रतिष्ठा गरिएको थियो ।
१४ – पुजारी, कार्यकर्ता र भक्तजनहरु :
हाल पिनाकेशर देवताका मुख्य पुजारी लक्ष्मी नगर गा.वि.स. धन्नास गाउँका दीर्घराज ओझा हुन् । यी देवताका वर्तमान भणरे जोरायल गा.पा.४ भिणानी गाउँका मानसिंह खड्का रहेका छन् । त्यसैगरेर यी देवताका नि–वर्तमान धामी स्व.खडक सिंह मडै थिए भने, वर्तमान धामी सच्याउन वा पुष्टी हुन बाँकी रहेको अवस्थामा छ । भाना, भोक्कर बजाउने स्वयंसेवक कार्यकर्ताहरु सम्वन्धित् मडै, पाली र खड्काहरु रहेका छन् ।
१५ – पिनाकेश्वर देवताका फौदार र भलादिमीहरु :
अहिले यी देवताको मन्दिरमा पूजालाग्ने समयमा मन्दीरको ढोकामा चाँदीको छडी समातेर उभिरहने फौदार लक्ष्मीनगर गा.वि.स मापर्ने कुडेलगाउँका चक्रबहादुर बोहरा छन् । यसदेवताका भलादिमीहरुमा डोटी जिल्ला लक्ष्मीनगर गा.वि.स. मापर्ने बगेस्थी गाउँका भट्ट ब्राह्मणहरु र बोहराहरु, त्यस्तै सरस्वतीनगर गा.वि.स.भित्र पर्ने कोटेली गाउँका भट्टहरु र भाडी गाउँका कठायतहरु हुन् । भलादिमीहरुले यसदेवताको जात्रामा हुनसक्ने कुनै पनि झै–झगडा वा अन्य विवादलाइ मिलाउने काम गर्दछन् ।
१६ – पूजा लागने समय :
प्रत्येक वर्ष कार्तिक शुक्लपक्ष दशमीतिथिका राती पूजा लगाइन्छ होम पनि त्यसै राती हुन्छ । बिहान पनि पूजा हुन्छ । तर बिहान होम हुँदैन । गौदान मात्र हुन्छ । हरिबोधनी एकादशीका बिहान पूजा भैसकेपछि दिउँसो नजिकै रहेको ‘खर्तोला’ खेतमा जात्रा चल्दछ । जसलाइ स्थानीय भाषामा बयाँल (चौलो) भनिन्छ ।
१७ – जात्रा बृतान्त :
कार्तिकशुक्ल दशमीका दिन बिहान सर्वप्रथम यी देवताको भण्डार (भणार) देउघर बाट भणरेले घाँट छडी, भाना, भोक्कर, घण्टी, झाँझ, गाँज, तामा आदिका सुरुवा, कुणिलो, (तामाको थालीजस्तै भएको भाडो) तामाको खोप (तामाको लिङ्गाकार बस्तु) चाँदीको डोला,चौरी गाइको पुच्छर इत्यादी निकालेर नजिकै रहेको सयगडा गाउँको खोलामा गएर भणारस्नान गर्दछन् । भणारस्नान गरेर फर्कनेबेलामा दाइन–दमाहा वा पञ्चे बाजा, भाना–भोक्कर बजाउदै मन्दीर परिसरमा पुगेपछि मन्दिरको परिक्रमा गरिन्छ । त्यसै दिन साँझपख सबै भक्तजनहरुले आ–आफ्ना घरबाट ल्याएको गाइको दुध–दही,घ्यू ,फलफूल, जौ ,तिल ,बत्ती चामल पिठो इत्यादी जसलाइ यहाँको भाषामा (पूजपोखल) भनिन्छ ती सबै सामग्रीहरु स्वयंसेवकहरुले एकै ठाउँमा जम्मा गर्दछन् । साथ साथै प्रसाद बनाउने काम पनि सुरु हुन्छ । साँझ ८बजे तिर नजिकै रहेको विनोडा गाउँबाट श्रीघण्टेश्वर देवताको जात्रा वा(देउरो) आउँछ । त्यस देउरोमा आएका भोक्करहरु बोलेको सुनिएपछि स्वागत स्वरुप यताको मन्दिर बाट पनि भोक्करहरु बजाइन्छ । घण्टेश्वर देवताको गाँज,धामी,पुजारी,र कार्यकर्ता सहितको जात्राले मन्दिर परिसरमा प्रवेश गरिसके राति पुजारीद्वारा मन्दिर भित्रका सम्पूर्ण लिंङ्गहरुको गोमुत्र,गंगाजल इत्यादिले शुद्घीकरण गरिसकेपछि धोएका चामलमा दही दुध मिलाइ फलफूल समेत चढाएर मन्दिर भित्रका सबै लिंङ्गहरुको पूजा गर्ने गरिन्छ । राति लगभग १२ बजे तिर मन्दिरको ढोका अगाडि रहेको हवनकुण्डमा पुजारीले प्राचीन पद्घतिअनुसार शुद्घ गाइका घिउमा जौं–तिल मिस्याएर होम गर्दछन् । त्यसै राती कुनै–कुनै भक्तले आफ्नो भाकल अनुसार मन्दिर परिसरमा सत्यनारायण स्वामीको कथा पनि लगाउँछन् । पूर्णाहुति नहुँदै देवताको नाउ गरी उपवास गरेर बर माग्न आएकी महिलाहरुलाइ पुजारीले “बाता ल्याएर आस” भनेर ठुलो स्वरले बोलाउँछन् । त्यस पछि सबै ब्रतालु महिलाहरु लाइन लागेर बलेका बाताहरु सहित फलपूmल धुप इत्यादी पुजारीको हातमा दिन्छन् । पुजारीले ती बलिरहेका बाताहरु मन्दिर भित्रका सबै लिङ्गहरुमा चढाउँछन् । ती ब्रतालु महिलाहरुलाइ फलफूल प्रसाद दिएर पठाउँछन् । त्यसपछि पुजारी पुन: होमकुण्डमा आउँछन् । मेधा चढाउनु पूर्व पुजारीले वैदिक मन्त्रहरु उच्चारण गर्दै कामीरहेका धामी र समस्त भक्तजनहरु माथिपर्ने गरेर पञ्चगव्य द्वारा अभिषेक गर्दछन् । सबैको हात–हातमा फूल अक्षता दिन्छन् । होमको अन्त्यमा निराहार बसेका सबैले मेधा वा पूर्णाहुतिमा फूल अक्षता चढाउँछन् । हवनको कार्यक्रम सकिए पछि होमकुण्डबाट पुजारीले तिलक निकालेर सर्वप्रथम मन्दिर भित्रका देवताका गाथहरुमा चढाउँछन् । त्यसपछि आएका सबै ब्राह्मणहरु लाइ लगाउँछन् र क्रमैसंग भणरे, फौदार, माली, चार राठ कार्यकर्ता, भलादिमी, धामी इत्यादीलाइ र सम्पूर्ण भक्तजनहरु लाइ तिलक प्रसाद लगाउँछन् । तिलक फलफूल र कथाको प्रसाद वितरण भैसकेपछि उपवास बसेकी ब्रतालु महिलाहरु,कार्यकर्ता, धामी, भणरे, आदि सबैले खाना खाने कार्यक्रम रहन्छ । दशमीका रातीको पूजा र हवन सकिएपछि बाँकीरात मन्दिर परिसर भित्र ब्रतालु महिलाहरु फाग, धुमारी, भजन–किर्तन गाउँछन् , भने पुरुषहरु मन्दिरको तल नदी नजिकैको लामो गडामा भएका स–साना चिया–नास्ता मिठाई इत्यादीका पसलहरुमा गएर आफूलाइ मन्पर्ने बस्तु किनेर खान्छन् त्यस पछि डेउडा,चैत, धमारी, हात्जोडी, लोकदोहरी, नाचगान, इत्यादी गरी रात बिताइन्छ । कुनैकुनै भक्तहरु दोस्रो दिन एकादसीका बिहान नदीमा गई स्नान गरी मन्दिरमा आएर देवताको नाममा ब्राह्मण द्वारा विभिन्न पाठहरु पनि गराउँछन् ।
दोश्रो दिन हरिबोधनी वा ठुली एकादशी पर्ने भएकोले अधिकांश भक्तजनहरु निराहार वा उपवास बसेका हुन्छन् । बिहान मन्दिरको ढोका अगाडि रहेको ठुलो ढुङ्गाको ‘राजसिंहासन’ जसलाइ स्थानीय भाषामा (घण्टेश्वरको विँडिं) भनिन्छ त्यसमा रेसमको गादी बिछ्याइन्छ । त्यस गादीमा जात्रामा आएका सबै भक्तहरुले भेटी फलफूल इत्यादी राख्दछन् । बिहान ८ बजे तिर नजिकै रहेको बिनोडा गाउँबाट घण्टेश्वर देवताका धामीलाइ ल्याएर घण्टेश्वरकै फौदारले बोलाएर ल्याउँछन् । मन्दिरमा पुगे पछि घण्टेश्वरका धामी प्राचीन कालमा राजाहरुले लगाउने जस्तै लुगाहरु लगाउँछन् र गादी (विडि)मा गएर बस्दछन् । धामीमा घण्टेश्वरको अवतारभए लगत्तै उनी जोरले उत्तानो पर्ने भएकाले धामीको पछाडि देवताका १० जना कार्यकताहरु एक अर्काको हात् समातेर सुरक्षाका लागी तयार भएर बसेका हुन्छन् । पिनाकेश्वर लगायतका अरु मातहतका देवताका धामीहरु लाइ बस्न हरियो स्याउलाको आसन (बिंडो) राखिन्छ । दमाइहरुले दाइन–दमाउमा सर्वप्रथम पिनाकेश्वर देवताको लागी मात्रै प्रयोगहुने धुन बजाउछन् । जसलाइ स्थानीय भाषामा पिनाकेश्वर देवताकी घाइ भनिन्छ । त्यपछि क्रमैसंग अरु स्थानीय देवताका घाइहरु पनि लगाउँछन् । पुजारीले पनि संगसंगै वेद मन्त्रले पञ्चगव्यद्वारा अभिषेक हाल्न सुरुगरे पछि सबै देवताका धामी काम्न सुरु गर्दछन् । ती कामेका धामीहरु सर्वप्रथम घण्टेश्वरदेवताका गादीमा घोप्टो पर्दै “ हे साँई ! तेरीतिर बाउन्न लोट त्रिपन्न पोटला , हे इन्द्र ! झुटा पडौला त गौहत्या ब्रह्महत्या” भन्दै सलामी चढाउँछन् यसको अर्थ : “हे राजा घण्टेश्वर ! तपाईको चरणमा मेरो बाउन्न पटक दण्डवत् छ, त्रिपन्न पटक म यहँप्रती वफादारीको बाचा गर्दछु । हे इन्द्र देव ! यो कुरा झुट्टा भए मलाइ गौहत्या र ब्रह्महत्या लागोस” भन्ने हुन्छ । त्यस पछि घण्टेश्वरदेवताका धामीमा पनि घण्टेश्वरको प्रवेश हुन्छ र उनी काम्दै जोरले उत्तानो पर्न खोज्दछन् । पछाडि बसेका घण्टेश्वरका कार्यकर्ता भक्तहरुले धामीलाइ ढल्न नदिइ उठाएर पालैपालो आफ्नो काँधमा चढाउँछन् । धामीको शिरमाथि रेसमको सुन्दर झालर बाला चारकुनामा चार लठ्ठी बाधेर तलबाट चार जनाले समात्ने किसिमको छत्र वा(चनियो) ओढाइन्छ । त्यसपछि पुजारीले कामरिहेका सबै धामीहरुका हातहरु संयुक्त गर्दै सम्वन्धित् देवताका घाँटहरु सहित धामीहरुलाइ समात्न लगाइ गोदान गराउन गाइको पुच्छर थाम्न लगाउँछन् । गाइ नभए गाइको गोबरमा रुपैयाँ पैशा राखेर पनि गोदान गराइन्छ । गोदान गर्दा सम्वन्धित् देवताका धामी उपस्थित नभएको खण्डमा उक्त देवताका भणरेले पनि देवताको घाँट समातेर गोदान गर्ने सक्ने परम्परा रही आएको छ ।
गोदानको कार्यक्रम सकिए पछि मन्दीरको पाँच परिक्रमा गर्दै घण्टेश्वरका धामीलाइ काँधमा चढाएकै अवस्थामा, छत्र वा चनिया ओढाइदै, दाइन–दमाउ भाना–भोक्कर बजाउँदै, घण्टेश्वरको गाँज नचाउँदै, जात्रा खोलापारी नजिकै रहेको खरतोला खेतमा चल्दछ । अन्य धामीहरु पनि काम्दै गरेर नदी (गा:ड) तरेर खरतोला खेतमा पुग्दछन् । त्यो खेतमा रहेको ठुलो चेप्टो ढुङ्गामा पुन:घण्टेश्वर देवताको रेसमको गादी लगाइन्छ र घण्टेश्वरको घाँट डोला इत्यादी सबै सामानहरु त्यसै गादीमा राखिन्छ । स्वयंसेवक कार्यकर्ताहरुले घण्टेश्वरका धामीले लगाएका लुगाहरु फुकाले पछि घण्टेश्वरका पुजारीले ति धामीको मुखमा र शिरमा गंगाजल हाल्दछन् । त्यसपछि उनी काम्न रोकिन्छन् । तर पिनाकेश्वर लगायतका अरु धामीहरु भने कामी रहेकै हुन्छन् । त्यसैबेला भक्तजनहरु आफ्नो समस्याहरुका विषयमा धामीहरुसंग सोधपुछ गर्दछन् ।
१८ – जात्राको समाप्ती :
जात्राको समाप्ती तिर एउटा तामाको ठूलो थालजस्तै भाँडो जसलाइ यहाँको भाषामा (कुँड्यालो) भनिन्छ त्यसमा फलफूलहरू राखिन्छन्् । त्यो भाँडा एकजना भक्तले आफनो शिरमा बोक्दछन् । दाइन, दमाउँ, भाना भोक्कर बजाउँदै बयाल अगाडि बढ्दछ । अगाडि धामीहरु र पछाडि देवताका सबैभक्तहरू रमाइलो गर्दै खर्तोला खेतको चारैतिर घुम्दछन् । भक्तहरु सबै स्थानीय देवताको जय–जयकार लगाउँछन् । धामीहरु कुणिलोमा भएका फलहरू आकाशमा एकएक गरेर उछिट्याउँछन् । त्यो आकाशबाट आएको फल जुन् भक्तका हातमा आफै पर्न आउँछ , त्यो भक्तलाई त्यो वर्ष फलीफाप हुन्छ भन्ने मान्यता रहि आएको छ । भक्तको कामना पूरा भएपछि अर्को साल त्यसै दिन त्यसैजात्राका दिन सो भक्तले केही न केही चिना–बानो ल्याएर चढाउँछन् । अन्तमा कामिरहेका सबैधामीहरुले आएका भक्तहरुका शिरमा हात राख्दै : “हे मेरी पूmलकी माला खेली खाया, जो जे ध्याएर आएका हौ, सो सबै फल पाउन्या छौ । अकाल मर्न दिन्या छैनौ, काल जति सक्न्या छैनौ” भन्दै आशिर्वाद दिन्छन् । त्यसपछि भक्तहरु पनि देवताको जय–जयकार लागाउँदै आ–आफना घर तिर लाग्दछन् र जात्रा सकिन्छ ।
जोरायलका साहित्यकार निर्मलकुमार भण्डारीले तयार गर्नु भएको यो सामग्री हामीले घण्टेश्वर साप्ताहिक पत्रिकाबाट साभार गरेका हौं ।