कबिराम डाँगी
घण्टेश्वर, डोटी
डोटी र डडेल्धुरा जिल्लाको प्रसिद्ध घण्टेश्वर देवताको मेला (जाँत) यही भदौ २६ गते राती हुने भएको छ ।
घण्टेश्वर देवताको पूजाआजा तथा मेला भदौ २६ गते राती शुरु भएर भोलीपल्ट बिहानसम्म हुने घण्टेश्वर देवता धार्मिक तथा पर्यटन विकास समितिले जनाएको छ । अध्यक्ष मडैका अनुसार घण्टेश्वर जाँतको सबै तयारी अन्तिम चरणमा रहेको छ । जाँतलाई शान्त र व्यवस्थित गर्न बिभिन्न उप समितिहरु पनि निर्माण गरिएका छन । घण्टेश्वर देवताको जाँतलाई शान्तिपूर्ण बनाउनका लागि मेला अबधीभर जुवा तास, मदिरा बिक्री बितरण तथा सेवन पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको समितिका अध्यक्ष भिमबहादुर मडैले बताउनु भयो । मेलालाई शान्त र व्यवस्थित रुपमा सम्पन्न गर्नको लागि जोरायल गाउँ पालिका वडा नं. २ का वडाध्यक्ष बीरबहादुर दर्लामीलाई खानेपानी व्यवस्थापन, वडा नं. १ का पूर्ब अध्यक्ष भजनसिंह मल्ल र समाजसेवी कुलदेब मल्ललाई हगुल्टेदेखि मन्दिरसम्मको सडक मर्मत तथा सरसफाई, समाजसेवी डम्मबर डाँगीलाई बिद्युत व्यवस्थापन, समाजसेवी पदम डाँगी र लालबहादुर बोगटीलाई भजन कृतन व्यवस्थापन, युवा समाजसेवी युवराज मल्ललाई स्वयंसेवक व्यवस्थापनको जिम्मेवारी तोकिएको छ ।
यसैगरि तिलक मडै र अम्मर पालीलाई भक्तजन व्यवस्थापन, मिन बहादुर मडै र खडक बहादुर मगरलाई मन्दिर रङ्गरोगन÷दाउरा÷टेन्ट व्यवस्थापन तथा मन्दिर परिसर सरसफाईको जिम्मेवारी तोकिएको समितिले जनाएको छ ।
धार्मिक, ऐतिहासिक तथा पर्यटकिय दृष्टिकोणले महत्वपूर्ण घण्टेश्वर लेकमा अवस्थित घण्टेश्वर देवताको मन्दिरमा हरेक बर्ष भाद्र शुक्ल अष्टमीको दिन जाँत अर्थात मेला लाग्ने गर्दछ । यस क्षेत्रमा पर्ने महाभारत पर्वत श्रृङ्खलामा सबै केदारहरुको पूजा लाग्नु भन्दा अगाडि सर्वप्रथम घण्टेश्वरकोे पूजा लाग्ने गर्दछ ।
मेलामा डोटी डडेल्धुरा जिल्लाका अतिरिक्त छिमेकी जिल्लाका श्रद्धालु भक्तजनहरुको ठुलो भिड लाग्ने गर्दछ । शुद्ध तथा पवित्र मनले ब्रत बसि घण्टेश्वर बाबाको दर्शन गरेमा सोचेको पूरा हुने जनबिश्वास रहेको पाईन्छ ।
अध्यक्ष मडैका अनुसार घण्टेश्वर मेलाको दिन परापूर्बकाल देखि जोरायल गाउँपालिका वडा नं. ४ बिनोडा गाउँ, सैगडा, घण्टेश्वरको सुनलेक, डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका अन्तरगत पर्ने उणी, गन्यापधुरा गाउँपालिकाको रुवाखोला जर्माना गाउँबाट देउरो ल्याउने गरिन्छ ।
मन्दिरमा परम्परा अनुसार पूजाआजा हुने गर्दछ । परापूर्बकालदेखि घण्टेश्वर देवताको पूजाआजाको लागि सरकारबाट केही रकम उपलब्ध हुँदै आएको छ । सो वाफत घण्टेश्वर देवताको पूजाआजा सम्पन्न भईसकेपछि देवताको प्रसाद(तिलख) नेपाल सरकारलाई पठाउने परम्परा समेत रहेको छ ।
घण्टेश्वर देवता केदार श्रेणीका देवता हुन् । यस क्षेत्रमा यी केदार श्रेणीका सातवटा देवताहरु छन् भनी डोटी जिल्लाका इतिहास–संस्कृति विज्ञ पदमराज जोशी ‘भारद्वाज’ले आफ्नो ‘कालोपातल’ भन्ने खोजमूलक पुस्तकमा विस्तृत रुपमा उल्लेख गर्नु भएको छ ।
उहाँका अनुसार सबैभन्दा जेठा घण्टेश्वर हुन् । त्यसपछि क्रमशः कपल्लेकी केदार (डोटी कफल्लेकीमा), कपडेउती केदार (डोटी मुडेगाउमाँ), ‘असिउँ केदार’ डडेलधुरा जिल्लाको आलिताल गाउँ पालिकाको गाँखेत गाउँ तथा असिउँ धुरामा (डोटी जिल्लाको मुडेगाउँमा ,जोरायल अवस्थीगाउँ तथा डडेलधुरा जिल्लाको रुवाखोेलामा गरी चार ठाउँमा) त्यस्तै ‘भागेश्वर केदार’ (डडेलधुरा र डोटी जिल्लाका कैयौं ठाउँमा ) ‘काफली केदार’ (मुडभरा डोटी) ‘गन्याप केदार’ (डडेलधुरा जिल्लाको कैलपाल गा.वि.स.मा) पर्दछन् भनि जोरायलका कबि निर्मलकुमार भण्डारीले सुदूरपश्चिमको प्रमुख धार्मिक स्थल घण्टेश्वर मन्दिर नामक लेखमा उल्लेख गर्नु भएको छ ।
अहिले डोटीको जोरायल गाउँ पालिका, प्रदेश सरकार तथा नेपाल सरकारको लगानीमा हगुल्टे खानदेखि घण्टेश्वर मन्दिरसम्म कच्ची सडक पुगिसकेको छ । स्थानीय बासिन्दाहरुको सहयोगमा घण्टेश्वर मन्दिरको नजिकै पासो देवताको मन्दिर निर्माण भईसकेको छ । मन्दिरको सँरक्षण गर्न पर्खाल निर्माण तथा जमिन सम्याउने काम सम्पन्न भईसकेको छ । घण्टेश्वर मन्दिर क्षेत्रको बिकासको लागि बिस्तृत डिपीआर समेत निर्माण भईसकेको गोगनपानीका बमबहादुर मल्लले जानकारी दिनु भयो ।
घण्टेश्वर क्षेत्र धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेकाले यसको डिपीआरको आधारमा बिकास गरिनु पर्ने समेत स्थानीय बासिन्दाहरुले माग गरेका छन । यसलाई धार्मिक पर्यटनको रुपमा बिकास गर्न सकियो भने स्वदेशी तथा बिदेशी पर्यटकहरु घण्टेश्वरसम्म ल्याउन सकिने स्थानीय युवाहरुको धारणा रहेको छ ।
डोटी र डडेल्धुरा जिल्लाको सिमानामा पर्ने घण्टेश्वरलाई पर्यटकीय स्थलका रुपमा बिकास गर्नका लागि जोरायल गाउँ पालिकाले प्राथमिकता दिएको र नेपाल सरकारले पनि सहयोग गर्नु पर्ने जोरायल गाउँ पालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनु भयो ।